मलेसिया। मोरङ जिल्ला, मधुमल्लाकी चन्द्रकला राना मगर करिब १५ वर्षअघि पर्यटन भिसामा मलेशिया आएकी थिइन् । एक एजेन्टको सहयोगमा काम गर्ने परमिट बनाएपछि उनले कहिले आफ्नै रेस्टुरेन्ट सञ्चालन गर्ने त कहिले अरूको रेस्टुरेन्टमा काम गर्दै आएकी थिइन् ।
मलेशियाको सेलाङ्गोर राज्य अन्तर्गत रावाङ (Rawang, Selangor) क्षेत्रमा काम गर्ने क्रममा उनी गम्भीर रूपमा बिरामी परेकी थिइन्। उपचारका लागि रावाङ व्यवसाय समूहको सहयोगमा उनलाई अस्पताल भर्ना गरिएको थियो । तर उपचार खर्च अत्यन्त महँगो र ठूलो रकम लाग्ने भएपछि समस्या जटिल बन्दै गएको थियो ।
यस अवस्थापछि पीएनसीसी मलेशियाले नेपाल दूतावास मलेशियासँग समन्वय गरी उनलाई स्वदेश फर्काउने पहल गरेको थियो । नेपाल दूतावासले अस्पतालसँग आवश्यक समन्वय गरी अत्यधिक भएको उपचार बिल घटाइ न्यूनतम रकम मात्र तिरेर उनलाई अस्पतालबाट डिस्चार्ज गराएको थियो । त्यसपछि नेपाल दूतावास, पीएनसीसी मलेशिया र बागलुङ सेवा समाजको निगरानीमा उनलाई क्रिस्टिना होम केयर सेन्टरमा राखिएको थियो ।
निजलाई नेपाल फर्काउन परिवारले पठाएको रकम अपुग भएपछि एनआरएनए क्षेत्रीय कमिटी जोहोर शाखाकी अध्यक्ष बेदना श्रेष्ठको पहलमा एकतर्फी हवाई टिकटको व्यवस्था गरिएको थियो । उक्त टिकट एनआरएनए क्षेत्रीय कमिटी जोहोरले सहयोग गरेको हो ।
त्यसैगरी, चन्द्रकला राना मगरलाई एअरपोर्टसम्म पुर्याउन बागलुङ सेवा समाज मलेशिया अध्यक्ष कृष्ण खड्का, बारादैनिकका सञ्चालक कृष्ण गुप्ता तथा पीएनसीसी मलेशियाले सहयोग गरेका थिए ।
सबैको संयुक्त प्रयास, समन्वय र मानवीय सहयोगका कारण चन्द्रकला राना मगर २ फेब्रुअरी २०२६, बिहान ६:१० बजे नेपाल एयरलाइन्सको उडानमार्फत सुरक्षित रूपमा नेपाल फर्किन सफल हुनुभएको छ ।
विदेशमा समस्यामा परेका नेपालीहरूका लागि विभिन्न संघ–संस्था तथा नेपाल दूतावास मलेशियाले देखाएको यो सहकार्य र सहयोग प्रशंसनीय रहेको छ ।