मलेसिया। मलेसियामा क्रियाशील मगर समुदायलाई अझ सशक्त, पारदर्शी र युवामैत्री बनाउने लक्ष्यसहित बिरस पुन मगरले मगर संघ मलेसियाको केन्द्रीय अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।
उम्मेदवारी घोषणा गर्दै पुन मगरले संगठन सुदृढीकरण, सुशासन र पारदर्शिता, सदस्य विस्तार तथा सक्रियता, युवा तथा महिला सहभागिता वृद्धि, सामाजिक तथा आपतकालीन सहयोग, सांस्कृतिक संरक्षण र प्रवर्द्धनजस्ता विषयलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्।
उनले मगर संघ मलेसियालाई दीर्घकालीन दृष्टिकोणसहित केन्द्रीय र क्षेत्रीय तहबीच सशक्त समन्वय गर्ने, कानुनी तथा परामर्श सहयोगलाई संस्थागत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
“अब समय आयो— मगर संघ मलेसियालाई अझ सशक्त, पारदर्शी र युवामैत्री बनाउने,” भन्दै पुन मगरले परिवर्तनका लागि सबैको एक मत र एकता आवश्यक रहेको बताएका छन्।
उनले मगर समुदायका सदस्यहरूलाई एकताबद्ध भएर आगामी नेतृत्व चयनमा सक्रिय सहभागिता जनाउन अपिल गर्दै “ जय मगर, जय एकता” भन्ने नारासमेत अघि सारेका छन्।
