काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता, २०८२ अन्तर्गत कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा तय गरिएका सम्पूर्ण खेलहरू अब मुलपानी क्रिकेट मैदानमा सारिएको जनाएको छ ।
बिहीबार क्यानले जारी गरेको विज्ञप्ति अनुसार २०८२ चैत ७ देखि सुरु हुने प्रतियोगिताका खेलहरू तल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन गरिनेछ । यसअघि खेलहरू त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने तय गरिएको थियो ।
संघले आगामी आईसीसी पुरुष क्रिकेट विश्वकप लिगको तयारीका लागि क्रिकेट मैदानको स्तरोन्नति तथा मर्मत कार्य आवश्यक भएकाले खेल स्थल परिवर्तन गरिएको स्पष्ट पारेको छ ।
क्यानका प्रवक्ता छुम्बी लामाले हस्ताक्षर गरेको विज्ञप्तिमा प्रतियोगिता पूर्वनिर्धारित मिति र तालिका अनुसार नै सञ्चालन हुने पनि उल्लेख गरिएको छ ।
