काठमाडौं, २५ जेठ । सालपा विकास बैंकले आगामी असार १५ गते वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। सभामा बैंकको कार्यक्षेत्र थप चार जिल्लामा विस्तार गर्ने प्रस्तावसहित सञ्चालक समितिको नयाँ नेतृत्व चयनलगायत महत्वपूर्ण एजेन्डामाथि छलफल हुने भएको छ।
जेठ २२ गते बसेको सञ्चालक समितिको बैठकले खोटाङको दिक्तेलस्थित शुभम फाउन्डेशन परिसरमा बिहान ११ बजेदेखि सभा सञ्चालन गर्ने निर्णय गरेको हो।
सभामा बैंकको हालको कार्यक्षेत्र बाहेक थप चार जिल्लामा सेवा विस्तार गर्ने प्रयोजनका लागि प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पेश गरिनेछ। नियामक निकायबाट आवश्यक निर्देशन आएमा सोअनुसार संशोधन गर्न सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा लैजाने तयारी गरिएको छ।
त्यसैगरी, सञ्चालकहरूको सेवा–सुविधा पुनरावलोकन गरी नियमावली संशोधन गर्ने, वार्षिक प्रतिवेदन पारित गर्ने, वित्तीय विवरण स्वीकृत गर्ने तथा आगामी आर्थिक वर्षका लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावमाथि समेत छलफल हुनेछ।
बैंकले आगामी कार्यकालका लागि नयाँ सञ्चालक समिति चयन गर्ने कार्यक्रम पनि सभाको कार्यसूचीमा समावेश गरेको छ।