इप्पानको सचिवमा कृष्ण घिमिरे निर्विरोध, ऊर्जा क्षेत्रको सुधार र विस्तारमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

काठमाडौं,स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नयाँ कार्यसमिति चयन प्रक्रिया सम्पन्न भएको छ। निर्वाचन समितिले अन्तिम परिणाम सार्वजनिक गरेसँगै इप्पानले नयाँ नेतृत्व प्राप्त गरेको हो। यस निर्वाचनमा ऊर्जा क्षेत्रका सक्रिय व्यवसायी तथा बिकास हाइड्रो, बुढिगण्डकी हाइड्रो र सांग्रिला हाइड्रोका प्रबन्ध निर्देशक (एमडी) कृष्ण घिमिरे सचिव पदमा निर्विरोध निर्वाचित भएका छन्।

जलविद्युत् क्षेत्रको विकास, व्यवस्थापन तथा लगानी प्रवर्द्धनमा लामो समयदेखि सक्रिय रहँदै आएका घिमिरेको निर्विरोध चयनलाई ऊर्जा क्षेत्रभित्र सकारात्मक रूपमा हेरिएको छ। निजी क्षेत्रको ऊर्जा विकास अभियानमा निरन्तर क्रियाशील रहँदै आएका घिमिरेले इप्पानको सचिवको जिम्मेवारी प्राप्त गरेपछि संस्थालाई अझ प्रभावकारी, सदस्यमैत्री र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

निर्वाचनपछि प्रतिक्रिया दिँदै नवनिर्वाचित सचिव कृष्ण घिमिरेले नेपालको समृद्धि र आर्थिक रूपान्तरणको प्रमुख आधार नै जलविद्युत् क्षेत्र रहेको बताएका छन्। उनले प्राकृतिक स्रोतसाधनले धनी नेपाललाई ऊर्जा उत्पादनमार्फत आर्थिक रूपमा आत्मनिर्भर बनाउन सकिने उल्लेख गर्दै अब निजी क्षेत्र र सरकारबीच अझ प्रभावकारी सहकार्य आवश्यक रहेको बताए।

“नेपालको विकास र समृद्धिको मुख्य आधार जलविद्युत् नै हो। हामीसँग अथाह जलस्रोत छ, तर त्यसको पूर्ण उपयोग हुन सकेको छैन। अब ऊर्जा क्षेत्रका विद्यमान समस्या, नीतिगत जटिलता र लगानीकर्ताले भोगिरहेका चुनौतीहरूलाई समाधान गर्दै क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउनु आवश्यक छ,” घिमिरेले भने।

उनले इप्पानको नयाँ नेतृत्वले ऊर्जा क्षेत्रका साझा मुद्दाहरूलाई प्राथमिकताका साथ उठाउने बताउँदै जलविद्युत् उत्पादन, प्रसारण पूर्वाधार विस्तार, विद्युत् व्यापार तथा निजी क्षेत्रको लगानी सुरक्षाका विषयमा संस्थागत पहललाई अझ सशक्त बनाइने बताए।

“हाम्रो समूहले ऊर्जा क्षेत्रका समस्या पहिचान गरेर तिनलाई परिमार्जन गर्दै अगाडि बढ्नेछ। निजी क्षेत्रका लगानीकर्ताको मनोबल उच्च बनाउने, परियोजनाको कार्यान्वयनमा देखिएका अवरोध हटाउने र ऊर्जा क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधारका रूपमा स्थापित गर्ने दिशामा हामी प्रतिबद्ध छौँ,” उनले भने।

घिमिरेले ऊर्जा क्षेत्रलाई केवल व्यवसायिक क्षेत्रका रूपमा नभई राष्ट्र निर्माणको अभियानका रूपमा लिनुपर्ने धारणा राखे। उनले निजी क्षेत्रले राज्यलाई हजारौँ मेगावाट विद्युत् उत्पादनमा पुर्‍याउन महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै आगामी दिनमा ऊर्जा निर्यातमार्फत देशको आर्थिक अवस्थामा सकारात्मक परिवर्तन ल्याउन सकिने बताए।

यस निर्वाचनमा इप्पानको विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी स्वतः अध्यक्ष बनेका छन्। वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन लामा निर्विरोध निर्वाचित भएका छन् भने महासचिवमा टीएन आचार्य र उपमहासचिवमा कविता पोखरेल सर्वसम्मत चयन भएका छन्।

त्यसैगरी उपाध्यक्ष पदमा उत्तरकुमार श्रेष्ठ, सुसन कर्माचार्य, हिम पाठक, विक्रम विष्ट र नरेन्द्र बल्लभ पन्त निर्वाचित भएका छन्। सचिव पदमा कृष्ण घिमिरेसँगै कुवेरमणि नेपाल, अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, सुमन जोशी र विजयमोहन भट्टराई निर्वाचित भएका छन्।

निर्वाचनमा एक मात्र प्रतिस्पर्धात्मक पद रहेको कोषाध्यक्षमा शंकर बस्याल विजयी भएका छन्। उनले मिथुन पौडेललाई पराजित गर्दै इप्पानको कोषाध्यक्ष पदमा निर्वाचित भएका हुन्।

इप्पानको नयाँ नेतृत्व चयनसँगै ऊर्जा क्षेत्रका सरोकारवालाहरूले संस्थाले अब जलविद्युत् क्षेत्रका चुनौती समाधान, लगानी प्रवर्द्धन, विद्युत् व्यापार विस्तार तथा ऊर्जा नीतिमा सुधारका लागि अझ प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरेका छन्। विशेषगरी सचिव पदमा निर्विरोध निर्वाचित कृष्ण घिमिरेको अनुभव, व्यवस्थापकीय क्षमता र ऊर्जा क्षेत्रप्रतिको दीर्घकालीन प्रतिबद्धताले इप्पानलाई थप गतिशील र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

सम्बन्धित खबर