संघर्षबाट खारिएका ‘विशुद्ध संगीतकार’ दीपक शर्माको कथा

काठमाडौं । दुई दशकदेखि नेपाली संगीतमा निरन्तर साधना गर्दै आएका संगीतकार हुन् दीपक शर्मा । म्याग्दीबाट गायक बन्ने सपना बोकेर काठमाडौं पसेका शर्मा अहिले देशका स्थापित संगीतकारका रूपमा परिचित छन् । उनले अहिलेसम्म करिब ११–१२ सय गीतमा संगीत दिएका छन्, जसमा दुई–तीन सय गीतका शब्द पनि उनी आफैंले लेखेका छन् ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले भने, ‘अहिले म पूर्ण रूपमा संगीत सिर्जनामा नै व्यस्त छु । गीत पनि लेखेको छु तर म आफूलाई गीतकार होइन, विशुद्ध संगीतकार भन्न रुचाउँछु ।’

म्याग्दीमा जन्मेका शर्माको बाल्यकालमा मनोरञ्जनको एक मात्र माध्यम रेडियो नेपाल थियो । त्यही रेडियो सुन्दै हुर्किएका उनले आफूभित्र संगीतप्रतिको चाहना र प्रतिभा जागेको बताउँछन् । परिवारमा कसैको पनि औपचारिक संलग्नता संगीतमा नभए पनि, भाग्य र मेहनतले उनलाई यस क्षेत्रमा डोहोर्यायो ।

‘प्रारम्भ पनि हो, तर त्यसमा साधना र मेहेनतको भूमिका ठूलो हुन्छ,’ उनी भन्छन्, ‘म्याग्दीको गाउँबाट काठमाडौं आउँदा संगीत सिक्ने वातावरण नै थिएन । तर मनमा अठोट थियो संगीतकै क्षेत्रमा केही गर्नुपर्छ ।’

काठमाडौं पुगेपछि शर्माले संघर्षको लामा यात्रा सुरु गरे । बसोबासको अभाव र जीविकोपार्जनका कठिनाइबीच उनले होटलका साना कामदेखि सडकमा व्यापारसमेत गरे । तर संगीतप्रतिको लगाव उनले कहिल्यै छाडेनन् । ‘संगीत पढ्न, सिक्न, र साधनामा निरन्तर लागिरहेँ,’ उनले सुनाए ।

स्कुलका थुप्रै कार्यक्रममा दीपकले गीत गाएर पुरस्कार जिते । उनले आफ्नो सपना नै गायन बनाए । उनले एसएलसीपछि गायन सिक्नकै लागि गाउँ छाड्ने निधो गरे । तर, गाउँ छाड्न त्यति सहज थिएन ।

झण्डै २५ वर्षअगाडि त्यो बेला मनोरञ्जनको एक मात्र साधन थियो रेडियो नेपाल । रेडियोमा बज्ने गीतहरूले उनलाई तान्थे कसरी बनाउँछन् यस्तो गीत ? भन्ने जिज्ञासाले दीपकको मन भित्र संगीतको बीउ रोपियो ।

दीपक गायक बन्ने सपना बोकेर काठमाडौं पसेका थिए । घरमा कोही पनि गीतसंगीतसँग सम्बन्धित थिएनन्, अझ गाउँको सोच यस्तो थियो ‘गीत गाएर त परिवार पाल्न सकिँदैन नि ।’ त्यसैले उनले संगीतको बाटो रोज्दा समाज र परिवार दुबैसँग संघर्ष गर्नुपर्यो ।

संगीत सिक्दै जाँदा उनले बुझ्दै गए, गीतको लय हाल्ने मान्छे नै ‘संगीतकार’ हो । यही बुझेपछि उनले आफ्ना सपनाहरूलाई स्वर दिन थाले । साथीहरूको सहयोगमा उनले पहिलो गीत ‘ढल्के पीपल’ तयार गरे शब्द र संगीत दुबै आफ्नै । लगानी साथीहरूले गरे, रेकर्डिङ भयो, र यही गीतले उनलाई संगीतको संसारमा प्रवेश गरायो ।

नेपाल न्यूज बैंकको कुराकानीमा उनी भन्छन्, ‘आजभन्दा २० वर्ष पछाडिका हामीले परिघटना हेर्यौं भने २५ वर्ष अगाडि म जब बाल्यकाल हुँदाखेरिको कुरामा त्यतिबेला स्कुल पढिरहेको म । अब संगीतमा आउन सक्ने वातावरण के ले बनायो भन्ने कुरा इम्पोर्टेन्ट हुन्छ । गाउने भन्दा पनि धेरै स्कुलतिर सांस्कृतिक कार्यक्रम हुन्थ्यो । सांस्कृतिक कार्यक्रममा गीत बनाउने, लेख्ने काम हुन्थ्यो । म आफू आबद्ध भएको क्लब बाहेक अरु क्लबले नि मलाई गीत लेख्न लगाउनुहुन्थ्यो । अहिले आएर बुझ्दा, त्यो गीतमा मेलोडी हाल्ने, लय हाल्ने भनेको संगीतकारले गर्दा रहेछन् । त्यसलाई संगीतकार भनिँदो रहेछ ।’

काठमाडौं आइपुग्दा उनको हातमा एउटा पूरानो झोला थियो, मनमा ठूला सपना । न पैसा, न घर, न आफन्त । पढ्न र बाँच्नको लागि उनले होटलमा काम गरे, सडकमा व्यापार गरे । बिहान काम, बेलुका संगीत सिक्ने दैनिकी चलिरहयो । काठमाडौंमै बाँच्ने र सिक्ने तालमेलमा उनले आफ्नो जीवनको पहिलो अध्याय लेखे ।

दीपक भन्छन्, ‘रेडियो नेपाल नै मेरो प्रेरणा थियो । घर–परिवारमा कोही कलाकार थिएनन्, तर त्यही रेडियोले संगीतको भूत सवार गरिदियो ।’

एसएलसी सकेर काठमाडौं आउँदाको अवस्था सम्झँदा उनी भावुक बन्छन्,‘कसरी संगीत सिक्ने भन्ने पनि थाहा थिएन । घर थिएन, आफन्त थिएनन् । होटलमा काम गरेँ, सडकमा जुत्ता–चप्पल बेचेँ । तर संगीतलाई कहिल्यै छाडिन । बाँच्नका लागि काम गरेँ, बाँच्ने अर्थका लागि संगीत गरेँ ।’

काठमाडौं बसाइका सुरुवाती दिन सम्झदै दीपक भन्छन्, ‘निकै गाह्रो थियो । गाउँबाट आएको एउटा केटोलाई सहज थिएन् । काठमाडौ जस्तो सहरमा देशका विभिन्न ठाउँबाट आफ्नो लक्ष्य बोकेर आएका मजस्ता कति धेरै मानिससँग मुकाबिला गर्नुपथ्र्यो । संगीतमा झन धेरै संघर्ष थियो । तर गर्दै जाँदा समयले धेरै कुरा सिकाउँदो रहेछ ।’

यही समयले उनलाई आफूभित्रको क्षमता चिनायो, गायन मोह छाडेर संगीतकारका रुपमा स्थापित गरायो । संगीत जीवनका सुरुवाती दिनमा उनले थुप्रै गीतकारको दैलो धाए । तर उनलाई नयाँ भनेर कसैले विश्वास गर्दैनथे । त्यसपछि उनले गीत पनि आफैँ लेख्न थाले ।
भन्छन्, ‘संगीतले मलाई नयाँ जीवन दियो । नयाँ पहिचान दियो । अन्य पेसामा लागेको भए यति खुसी नहुन पनि सक्थेँ । अहिले म आफ्नो पहिचानमा खुसी छु । संगीत क्षेत्रमा चुनौती नभएको हैन, तर धैर्य गर्न सक्ने र मेहनत गर्यो भने सफलता प्राप्त गर्न सकिन्छ ।’
तर दीपकले संगीतमा पाइला राख्दाखेरि समय बदलिँदै थियो । क्यासेटको जमाना समाप्त हुँदै, डिजिटल युग प्रवेश गर्दै थियो । गीत सुन्नका लागि अब मान्छेले सीडी होइन, मोबाइलमा सेयर–बीटी र पीआर–बीटी डाउनलोड गर्न थालेका थिए । दीपकले पनि यो परिवर्तन बुझेर त्यही बजारका लागि गीत बनाउन थाले ।

त्यो समय अन्जु पन्तको स्वरमा आएको ‘मलाई आफ्नो बनाएर दुःखी बन्छौँ भने’ नामको गीतले दीपकलाई चर्चाको शिखरमा पु¥यायो । त्यसपछि स्वरूपराज आचार्यको ‘जिन्दगीकै सवाल हुन्छ, चोखो माया कि’ र प्रमोद खरेलको स्वरमा रहेको ‘छुट्टिएर तिमीसँग बाँच्न सक्ने भए’ जस्ता गीतहरूले उनलाई नेपाली संगीतको सशक्त नाम बनाए ।

उनी भन्छन्, ‘चोक, चोकमा त्यतिबेला ६७–६८–७० सालतिर हामीले हे¥यौँ भने कति याद गर्ने मान्छेलाई, चोक चोकमा गीत हाल्ने पसल थिए । क्यासेट पसल परिमार्जित भएर गीत हाल्ने पसल थिए । मेमोरीमा, पेन ड्राइभमा गीत हाल्ने थियो । त्यो बेलामा ठ्याक्कै म बजारमा अब म काम गर्छु, अलिकति केही समय म म्युजिकलाई अध्ययन गर्छु, काम गर्नुपर्छ भन्ने हिसाबले बिटि पियरी बिटिको लागि अलि बढी महत्व दिएर तयार पारेको गीत अन्जु पन्त दिदीले गाउनुभएको, ‘मलाई आफ्नो बनाएर दुखी बन्छौँ भने’ भन्ने गीतले मलाई चिनाउने मौका दियो ।’

तर त्यो उचाइसम्म पुग्नुअघि उनले असफलताको धेरै चरणहरू पार गरेका थिए । पहिलो चलचित्र ‘तेजप’मा संगीत गरे, तर गीतहरू ‘सुपर फ्लप’ भए । दीपक हाँसेर सम्झिन्छन्, ‘त्यो बेला यदि हिट भएको भए म घमण्डी बन्थेँ होला, साधना गर्न भुल्थे होला ।’ त्यस असफलताले नै उनलाई अझ गहिरो साधनातिर फर्कायो ।

साधनाको ती वर्षहरूपछि उनले पुनः चलचित्र संगीतमा फर्किँदै ‘सम्झिराख है’ फिल्मका लागि संगीत गरे र पहिलो पटक डी–सिने अवार्ड जिते । त्यो पुरस्कार केवल उनको लागि सम्मान होइन, संघर्षको कदर थियो ।

आज, दुई दशकभन्दा बढी समय बिताइसकेका दीपक शर्मा आफूलाई गर्वका साथ भन्छन्, ‘म विशुद्ध संगीतकार हुँ ।’ उनले १२०० भन्दा बढी गीतमा संगीत दिएका छन्, करिब ३०० गीत आफ्नै शब्दमा लेखेका छन् । लोकगीतदेखि आधुनिक, गजलदेखि चलचित्रसम्म, उनले संगीतका सबै रूपहरूमा हात हालेका छन् ।

तर सफलता सजिलो थिएन । दीपक आज पनि संघर्षको कथा भुलेका छैनन् । ‘संघर्ष नै जिन्दगी हो,’ उनी भन्छन्, ‘म अझै पनि साधनामै छु । संगीत मेरो धर्म हो, मेरो श्वास हो ।’

म्याग्दीको गाउँबाट काठमाडौंको भीडमा आइपुगेका दीपक अहिले नेपाली संगीतको बलियो स्तम्भ बनेका छन् । तर उनलाई घमण्ड छैन, अहंम छैन, केवल कृतज्ञता छ, साधनाको शान्ति छ ।

उनले संगीत गरेका थुप्रै गीतले करोड क्लबमा अड्डा जमाएका छन् । दीपकले संगीत गरेका फिल्मका गीतहरु करोड मात्र होइन अर्बमा क्लबमा प्रवेश गरेका छन् । बालगीत ‘आफूसित आफैं दंग’ले युट्युब सट्र्समा अभूतपूर्व सफलता हासिल गरेपछि उनको चर्चा थप चुलिएको छ । रामबाबु सुवेदीको युट्युब च्यानलमार्फत ८ महिनाअघि सार्वजनिक गरिएको छोटो भिडियो अहिलेसम्म एक अर्ब दुई करोडभन्दा बढी पटक हेरिएको छ ।

म्याग्दीको गाउँबाट काठमाडौंको सडक हुँदै नेपाली संगीतको मंचमा उभिएका दीपक शर्माको कथा केवल एक कलाकारको यात्रा होइन, यो साधना, संघर्ष र सुरको कथा हो ।

सम्बन्धित खबर