पेनाङमा सोनाम ल्होछार भव्य रूपमा सम्पन्न

पेनाङ (मलेसिया): नेपाल तामाङ समाज मलेसिया, पेनाङको आयोजनामा मञ्जुश्री संवत २८६२, ओ ता ल्हो अवसरमा आयोजित सोनाम ल्होछार कार्यक्रम आज भव्य तथा ऐतिहासिक रूपमा सम्पन्न भएको छ। तामाङ समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सांस्कृतिक एकता र आपसी सद्भाव स्पष्ट रूपमा देखिएको थियो।

कार्यक्रम सभापति श्याम तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा आर.टी.ए.पी.सी. तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजु योन्जन तामाङ प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो भने जनउद्धार मलेसियाका अध्यक्ष केशु थापा विशेष अतिथिका रूपमा उपस्थित रहनु भएको थियो।

पेनाङ राज्यमा रहेका तामाङ समुदायका साथै गैर–तामाङ समुदायको समेत उल्लेख्य सहभागिता रहेको कार्यक्रममा करिब ६ सयदेखि ७ सय जनासम्म दर्शकको उपस्थिति थियो। साथै मलेसियामा क्रियाशील विभिन्न संघ–संस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता तथा बुद्धिजीवीहरूको समेत सहभागिता रहेको थियो।

सोनाम ल्होछार कार्यक्रम अन्तर्गत तामाङ समुदायका मौलिक नृत्य, सांस्कृतिक प्रस्तुति, परम्परागत भेषभूषा तथा शुभकामना आदान–प्रदान कार्यक्रमहरू प्रस्तुत गरिएका थिए। सहभागीहरूले यस्ता कार्यक्रमले तामाङ भाषा, संस्कृति र पहिचानको संरक्षण तथा पुस्तान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए।

कार्यक्रमको समापन गर्दै सभापति श्याम तामाङले विदेशमा रहेर पनि आफ्नो भाषा, संस्कृति र पहिचान जोगाइराख्न सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो। साथै कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण अतिथि, संघ–संस्था, कलाकार, स्वयंसेवक तथा दर्शकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो।

सम्बन्धित खबर