रामेछाप । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि रामेछापमा तयारी तीव्र पारिएको छ ।
जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद लामिछानेका अनुसार निर्वाचन आयोगबाट मतपत्र बाहेकका सबै निर्वाचन सामाग्री जिल्ला आइसकेका छन् भने जिल्ला निर्वाचन कार्यालयले खरिद गर्नुपर्ने सामाग्रीको खरिद पनि सम्पन्न भएको छ । मतपत्र भने भोलिसम्म आइपुग्ने निर्वाचन आयोगबाट जानकारी आएको उनले बताए ।
निर्वाचनमा खटिन मतदान र सहायक मतदान अधिकृतको लागि फागुन १२ गतेदेखि १४ गतेसम्म प्रशिक्षण सञ्चालन गरिने भएको छ ।
निर्वाचनमा २ सय ३० जना मतदान अधिकृत, सहायक मतदान अधिकृत २ सय ३० र ६ सय ८४ सहायक कर्मचारी तथा सहयोगी कर्मचारी १ सय ३० खटिने उनले जानकारी दिए । निर्वाचनमा कुल १३ सय ७४ कर्मचारी खटिने छन् ।
मत बदर नहोस् भनेर जिल्लाका ६४ वटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको उनले बताए । त्यसको लागि स्वयंसेविका तथा इसिडीका सहयोग कार्यकर्ताहरु परिचालन गरिएको उनले जानकारी दिए ।
निर्वाचनको लागि आवश्यक समन्वय र सहकार्यका कामहरू भइरहेका उनले बताए ।
एक निर्वाचन क्षेत्र रहेको रामेछापमा निर्वाचनमा भाग लिने १७ उम्मेदवार मध्ये हालसम्म ११ जनाले बैङ्क खाता खोलेका उनले जानकारी दिए । आइतबार कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी लामिछानेले सो जानकारी दिएका हुन् ।