काठमाडौं । Pravasi Nepali Coordination Committee (PNCC) को समन्वय तथा नेपाल दूतावास मलेसिया र समाजसेवी राजु तामाङ को सहयोगमा झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका–३ निवासी विवेक गुरुङको मलेसियाबाट उद्धार गरिएको छ।
लामो समयदेखि मलेसियामा अवैधानिक रूपमा बसोबास गर्दै काम गरिरहेका गुरुङ काम गर्ने क्रममा खुट्टा चिप्लिएर लड्दा दाहिने खुट्टा भाँचिएको थियो। अवैधानिक (Undocumented) हैसियतमा रहेका कारण उनले कुनै किसिमको बीमा सुविधा पाएका थिएनन्। कम्पनीबाट उपचार खर्च व्यहोर्ने सम्भावना नहुँदा र व्यक्तिगत आर्थिक स्रोतसमेत अभाव भएपछि उनी स्वदेश फर्केर उपचार गराउन इच्छुक भए पनि फर्किने खर्च जुटाउन नसक्ने अवस्थामा थिए।
गुरुङको समस्याबारे दूतावासका कर्मचारी टेक बुढाले PNCC लाई जानकारी गराएपछि उद्धार प्रक्रिया अघि बढाइएको थियो। त्यसक्रममा PNCC मलेसियाले समाजसेवी तथा आरटीएफसीका अध्यक्ष, एनआरएनए मलेसियाका उपाध्यक्ष एवं आरटी सेक्युरिटी गार्डका निर्देशकसमेत रहेका राजु तामाङसँग समन्वय गरी गुरुङका लागि एकतर्फी हवाई टिकटको व्यवस्था गरेको हो।
राजु तामाङ मलेसियामा सफल व्यवसायीका रूपमा स्थापित हुनुका साथै विभिन्न संघ–संस्थामा आबद्ध भई त्यहाँ कार्यरत नेपाली श्रमिकहरूको दुःख–सुखमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ।
उद्धार प्रक्रियामा PNCC ले नेपाल दूतावास मलेसियासँग सहकार्य गर्दै अवैधानिक रूपमा बसेबापत मलेसिया सरकारलाई तिर्नुपर्ने जरिवाना रकम आरएम ५२० दूतावासमार्फत व्यवस्था गरिएको जनाएको छ। साथै, दूतावासले अध्यागमन कार्यालयसम्म जान–आउन आवश्यक सहजीकरणसमेत गरेको थियो।
गुरुङ २७ फेब्रुअरी २०२६ मा स्वदेश फर्किनुभएको छ। उनलाई काठमाडौँतर्फ प्रस्थान गराउन दूतावासका कर्मचारी टेक बुढा केएलआईए विमानस्थल पुगेका थिए। ‘फिट टु फ्लाइ’ (Fit to Fly) प्रमाणपत्र लिन लाग्ने खर्चसमेत बुढाले व्यक्तिगत रूपमा व्यहोरेको जनाइएको छ।
नेपाल फर्किएपछि गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत उद्धारमा सहयोग पुर्याउने नेपाल दूतावास मलेसिया तथा समाजसेवी राजु तामाङप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ।