काठमाडौँ – मलेसियामा करिब २४ वर्षदेखि बसोबास गर्दै आएका ५७ वर्षीय होमबहादुर घर्ती नेपाली राजदूतावासको पहलमा स्वदेश फर्किएका छन्। दृष्टिविहीन अवस्थामा रहेका उनलाई नेपाली राजदूतावास मलेसिया र पीएनसिसी मलेसियाको सक्रियतामा उद्धार गरी नेपाल ल्याइएको हो।
वर्षौंदेखि परिवारको सम्पर्कविहीन भई मलेसियामा हराइरहेका घर्तीको अवस्थासम्बन्धी भिडियो केही समयअघि सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। परिवारका अनुसार उक्त भिडियोका आधारमा उनको खोजी तथा उद्धारका लागि एमआरसी बाग्लुङमा निवेदन दिइएको थियो। त्यसपछि पीएनसिसीले खोजी कार्य तीव्र बनाउँदै आवश्यक समन्वय र उद्धारको सम्पूर्ण प्रक्रिया अघि बढाएको थियो।
जोहोर क्षेत्रको जंगलमा कटेरो बनाएर बसोबास गर्दै आएका घर्तीलाई उद्धार गर्न पुगेका पीएनसिसी जोहोरका आउटरीच स्टाफ सुरेन्द्र महत्तो र राजु तामाङका अनुसार उनी अत्यन्त नाजुक अवस्थामा जीवनयापन गरिरहेका थिए। बसोबास गरिरहेको स्थानमा न त पानीको उचित व्यवस्था थियो, न त विद्युत् सुविधा। मधुमेह (सुगर) लगायतका स्वास्थ्य समस्याका कारण दृष्टि गुमाइसकेका घर्ती छामछाम–छुमछुम गर्दै दैनिक जीवन बिताइरहेका थिए।
उद्धार अघि आवश्यक कागजात, हवाई टिकट, अवैधानिक बसोबासबापतको शुल्क लगायतका विषयमा समन्वय गर्न पीएनसिसी मलेसिया संयोजक पूर्ण सुब्बा र बाग्लुङ सेवा समाजका अध्यक्ष कृष्ण खड्कासहितको टोलीले दूतावासका उपनियोग प्रमुख तथा श्रम काउन्सिलरसँग छलफल गरेका थिए। छलफलअनुसार हवाई टिकट, अस्थायी आवास, ट्राभल डकुमेन्ट, अध्यागमनसम्बन्धी सहजीकरण तथा अन्य सम्पूर्ण खर्च दूतावासले व्यहोर्ने र जोहोरदेखि क्वालालम्पुरस्थित दूतावाससम्म ल्याउनेदेखि लिएर नेपालसम्म सुरक्षित रुपमा पुर्याउने व्यवस्था पीएनसिसीले गर्ने सहमति भएको थियो।
घर्तीलाई जोहोरको जंगलबाट २२ फेब्रुअरीमा उद्धार गरी क्वालालम्पुर ल्याइएको थियो भने २७ फेब्रुअरीमा नेपाल फर्काइएको हो। उनलाई मलेसियाबाट बिदाइ गर्न पीएनसिसी मलेसिया संयोजक पूर्ण सुब्बा र बाग्लुङ सेवा समाजका अध्यक्ष कृष्ण खड्का विमानस्थल पुगेका थिए। नेपाल आइपुगेपछि पीएनसिसी नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरी परिवारको जिम्मा लगाएको जनाएको छ।
वर्षौंदेखि हराएका बाबुलाई लिन त्रिभुवन विमानस्थल पुगेका छोरा कमल घर्तीले भावुक हुँदै भिडियो सन्देशमार्फत नेपाली राजदूतावास, पीएनसिसी तथा बाग्लुङ सेवा समाजप्रति कृतज्ञता व्यक्त गरेका छन्। उनले भने, “मेरो बुवाको उद्धारमा सहयोग गर्नु हुने सम्पूर्ण संस्थाप्रति हार्दिक धन्यवाद।”