सुर्खेत । कर्णाली प्रदेश सरकारले दश वर्षे शिक्षा योजना बनाउने भएको छ । कर्णालीको शैक्षिक गुणस्तर बढाउने उद्देश्यसहित १० बर्षे योजना बनाउन लागिएको हो ।
नेपालीहरुको संवैधानिक हक कार्यान्वयन गर्न र शैक्षिक गुणस्तर बढाइ जीवन पर्यत्न सुव्यवस्थित गर्न योजनाबद्ध कार्यक्रम गर्नका लागि शिक्षा योजना बनाउन लागिएको कर्णाली सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बताए ।
‘योजना निर्माण पछि उक्त योजना कार्यान्वयनका लागि मन्त्रालयको बजेट प्राथमिकीकरण गरिने र अबको १० वर्ष कर्णालीको शैक्षिक अवस्था कस्तो बनाउने भन्नेबारे योजनाले स्पष्ट खाका प्राप्त हुनेछ’ उनले भने । प्रदेश सरकारले शैक्षिक वर्ष २०८२÷०८३ देखि २०९१÷०९२ सम्मको लागि शिक्षा योजना निर्माण गर्न लागेको उनले बताए ।
सामाजिक विकास मन्त्रालयले शिक्षा योजना निर्माणका लागि बनाएको कार्यदलले योजनाको मस्यौदा तयार पारेको मन्त्रालयका शिक्षा विकास महाशाखा प्रमुख सुवर्ण खड्काले जानकारी दिए ।
‘समृद्ध प्रदेश र सुखारी कर्णालीवासीको प्रमुख आधारः गुणस्तरीय शिक्षाको लागि पर्याप्त लगानीमा शैक्षिक पूर्वाधार’ भन्ने दूरदृष्टिसहित योजना निर्माण गरिएको उनले बताए । ‘ज्ञान, सीप र सकारात्मक सोचयुक्त माध्यमसहित उच्चस्तरको खुसी, दक्ष एवं प्रतिबद्ध जनशक्ति उत्पादन गर्ने ध्येय शिक्षा योजनाको रहेको छ’ उनले भने ।
शिक्षा योजनामा शिक्षासम्बन्धी मौलिक हकको कार्यान्वयन गर्दै ज्ञानमा आधारित समाज र अर्थतन्त्र निर्माणका लागि उच्च शिक्षाको माध्यमबाट विभिन्न क्षेत्रमा सक्षम नेतृत्वयोग्य मानव संशाधन विकास गर्ने उद्देश्य उक्त योजनाको रहेको छ ।
प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमका अवसरबाट सीपयुक्त उद्यमशील जनशक्ति निर्माण, नागरिक साक्षरता शिक्षा र जीवनपर्यन्त सिकाइको अवसर उपलब्ध गराउनु रहेको महाशाखा प्रमुख खड्काले बताए ।