जीवन बीमा कम्पनीहरूको अभिकर्ता कमिसन खर्चमा वृद्धि

काठमाडौं, ०४ जेठ । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म आइपुग्दा जीवन बीमा कम्पनीहरूले अभिकर्तालाई दिने कमिसन खर्च उल्लेख्य रूपमा बढेको देखिएको छ। १४ जीवन बीमा कम्पनीहरूको सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कुल कमिसन खर्च ११ अर्ब ४ करोड रुपैयाँ नाघेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतभन्दा बढी वृद्धि हो।

बीमा व्यवसाय विस्तारसँगै अभिकर्तामार्फत नयाँ पोलिसी बिक्री बढ्दा कमिसन खर्च पनि उकालो लागेको देखिन्छ। यस अवधिमा सबैभन्दा धेरै कमिसन खर्च गर्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्स बनेको छ। कम्पनीले मात्रै २ अर्ब ७३ करोड रुपैयाँभन्दा बढी अभिकर्ता कमिसनमा खर्च गरेको छ।

त्यसपछि नेशनल लाइफ, एलआईसी नेपाल र हिमालयन लाइफ क्रमशः उच्च कमिसन खर्च गर्ने कम्पनीका रूपमा देखिएका छन्। सूर्यज्योति लाइफ, एशियन लाइफ, सिटिजन लाइफ तथा सानिमा रिलायन्स लाइफले पनि करोडौं रुपैयाँ अभिकर्ता कमिसनमा खर्च गरेका छन्।

वृद्धिदरका आधारमा भने आइएमई लाइफ सबैभन्दा अगाडि देखिएको छ। कम्पनीको कमिसन खर्च झण्डै ३० प्रतिशतले बढेको छ। रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ र सानिमा रिलायन्स लाइफमा पनि दोहोरो अंकको वृद्धि देखिएको छ।

बीमा कम्पनीहरूबीच बजार विस्तार र नयाँ ग्राहक आकर्षित गर्ने प्रतिस्पर्धा बढ्दै जाँदा अभिकर्ता कमिसन खर्च निरन्तर बढिरहेको विश्लेषण गरिएको छ।

सम्बन्धित खबर