केलान्तान (मलेसिया), माघ २ — मलेसियाको केलान्तान राज्यस्थित अध्यागमन विभागले अवैध रूपमा बसोबास गरिरहेका विदेशी नागरिकविरुद्ध संयुक्त छापा अभियान सञ्चालन गर्दै २५ जनालाई पक्राउ गरेको छ।
‘अप सापु’, ‘अप कुटिप’ र ‘अप महिर’ नाम दिइएको उक्त अभियान सोमबार कोटा भारु र बाचोक क्षेत्रमा एकैसाथ सञ्चालन गरिएको थियो। केलान्तान अध्यागमन विभागका उपनिर्देशक निक अख्तरुलहक निक अब्दुल रहमानका अनुसार दिउँसो करिब १२ बजेदेखि सुरु भएको उक्त अपरेसनमा १८ जना अध्यागमन अधिकारी परिचालित थिए।
छापा अभियानअन्तर्गत तीनवटा व्यावसायिक स्थल तथा निर्माणाधीन क्षेत्रको निरीक्षण गरिएको थियो। निरीक्षणका क्रममा स्थानीय तथा विदेशी गरी कुल ४८ जनाको कागजात जाँच गरिएकोमा विभिन्न अध्यागमन कानुन उल्लङ्घन गरेको आरोपमा २५ जना विदेशी पुरुषलाई नियन्त्रणमा लिइएको हो।
पहिलो छापा कोटा भारुको सेक्शन–१२ नजिक रहेको एक निर्माण स्थलमा मारिएको थियो, जहाँ ३२ जनाको जाँच गर्दा ११ जना विदेशी नागरिक पक्राउ परेका थिए। पक्राउ परेकामध्ये पाँच जना थाइ र तीन जना बंगलादेशी नागरिकलाई अध्यागमन नियमावली १९६३ को नियम ३९(ख) अन्तर्गत नियन्त्रणमा लिइएको छ। यसैगरी, दुई जना इन्डोनेसियाली नागरिकलाई अध्यागमन ऐन १९५९/६३ को धारा ६(१)(ग) तथा एक जनालाई धारा १५(१)(ग) अन्तर्गत अनुसन्धान भइरहेको जनाइएको छ।
दोस्रो छापा बाचोकस्थित एक फर्निचर कारखानामा मारिएको थियो, जहाँ १२ जना पाकिस्तानी र बंगलादेशी नागरिकलाई पक्राउ गरिएको छ। उनीहरू अनुमति सर्त उल्लङ्घन गर्ने तथा वैध कागजातबिनै देश प्रवेश गरेको आरोपमा अनुसन्धानको दायरामा ल्याइएको छ।
त्यसैगरी, बाचोककै अर्को फर्निचर पसलमा गरिएको तेस्रो छापामा दुई जना पाकिस्तानी नागरिक पक्राउ परेका छन्। उनीहरूलाई अध्यागमन ऐन १९५९/६३ को धारा १५(१)(ग) उल्लङ्घन गरेको आरोप लगाइएको छ।
पक्राउ परेका सबैलाई थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि अध्यागमन डिपोमा राखिएको छ। केलान्तान अध्यागमन विभागले अवैध आप्रवासीको उपस्थितिलाई नियन्त्रण गर्न तथा अध्यागमन कानुनको पालना सुनिश्चित गर्न यस्ता अपरेसनहरू आगामी दिनमा पनि निरन्तर जारी रहने जनाएको छ।