मकवानपुर । आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा चुनावी माहोल तातिँदै गएको छ । उम्मेदवारहरू रणनीति निर्माण, टोल–टोल भ्रमण तथा मतदातासँग प्रत्यक्ष भेटघाटमा व्यस्त देखिएका छन् ।
यसैक्रममा प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रामबहादुर थोकरले आफ्नै शैलीमा चुनावी अभियानलाई तीव्रता दिएका छन् । विभिन्न समूह परिचालन गर्दै निर्वाचन क्षेत्रमा सक्रिय बनेका थोकर जनताको सेवक बन्ने उद्देश्यसहित घरदैलो कार्यक्रममा केन्द्रित छन् ।
थोकरको सचिवालयका अनुसार उनी बिहानदेखि साँझसम्म मतदाताकै घरआँगनमा पुगेर आफ्ना विचार, नीति तथा योजनाबारे जानकारी गराइरहेका छन् । कुनै समय राप्रपाको बलियो आधार क्षेत्रका रूपमा चिनिएको मकवानपुरलाई पुनः आफ्नो राजनीतिक विरासतमा फर्काउने लक्ष्यसहित उनी चुनावी मैदानमा होमिएको सचिवालयको दाबी छ ।
जनताबाट सहज रूपमा अनुमोदित हुने विश्वाससहित उम्मेदवारी दिएका थोकर मकवानपुरको कैलाश गाउँपालिका अन्तर्गत साविक नामटारमा जन्मिएका हुन् । उनको चुनावी अभियान संगठनात्मक रूपमा पनि विस्तार हुँदै गएको छ । माघ १० गते हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३ स्थित बसामाडी लेबर्टमा वडा नम्बर ३, ११ र १९ लाई केन्द्रित गर्दै राप्रपा मकवानपुर क्षेत्र नम्बर २ को संयुक्त सम्पर्क कार्यालय स्थापना गरिएको छ । त्यसको भोलिपल्ट माघ ११ गते मनहरी गाउँपालिका वडा नम्बर ८ सिम्पानीमा पनि सम्पर्क कार्यालय सञ्चालनमा आएको छ ।
लामो समयदेखि जनतामाझ रहेर सेवा गरेको अनुभवका कारण आफू मकवानपुर क्षेत्र नम्बर २ मा परिचित अनुहार भएको थोकरको भनाइ छ । यही विश्वासका साथ उनले फागुन २१ को निर्वाचनमा जनताको मन र मत जित्ने लक्ष्यका साथ अभियान अघि बढाएका छन् । चुनावी भेटघाटका क्रममा मतदाताहरूले उनलाई संसदीय यात्राको शुभकामना दिँदै समर्थन जनाइरहेका छन् ।
यसपटक मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा गरी ४४ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । युवा उत्साह र राजनीतिक अनुभवको संगम देखिएको यस निर्वाचनमा फरक–फरक पृष्ठभूमिका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।