मनामा, बहराइन – Embassy of Nepal, Manama, Bahrainको समन्वयमा बहराइनमा उपचाररत बागलुङ जिल्लाका श्री श्याम कुमार घर्ती मगरलाई नेपाल फिर्ता गरिएको छ।
बागलुङ जिल्ला घर भई बहराइनमा कार्यरत रहनुभएका श्री घर्ती मगर २५ जुन २०२४ मा बहराइनमा भएको सडक दुर्घटनामा परी सख्त घाइते हुनुभएको थियो। दुर्घटनापछि उहाँको लामो समयसम्म Salmaniya Medical Complexमा सघन उपचार गरिएको थियो। स्वास्थ्य अवस्थामा सुधार आएपछि थप नर्सिङ केयरका लागि Jidhafs Community Health Center र Ibrahim Khalil Kanoo Community Medical Centerमा उपचार जारी राखिएको थियो।
सम्बन्धित अस्पतालले अब नेपालमै परिवारको साथमा नर्सिङ केयरसहित हेरचाह गर्न सकिने जानकारी गराएपछि राजदूतावासले आवश्यक समन्वय गरेको थियो। वैदेशिक रोजगार बोर्डको सचिवालयको सहयोगमा २१ फेब्रुअरी २०२६ का दिन फ्लाइदुबइको उडानमार्फत उहाँलाई बहराइनबाट नेपाल पठाइएको हो।
उहाँको साथमा उपचारमा संलग्न मेडिकल डाक्टर अब्बास फारुक जमाल हसन पनि नेपाल जानुभएको छ। नेपालमा थप उपचार तथा नर्सिङ केयरका लागि वीर अस्पतालमा व्यवस्था मिलाइएको राजदूतावासले जनाएको छ।
श्री घर्ती मगरको उपचार तथा उद्धारमा सहयोग पुर्याउने बहराइन सरकारको स्वास्थ्य मन्त्रालय, सलमानिया अस्पताल, जिदाफ कम्युनिटी हेल्थ सेन्टर, इब्राहिम कानू कम्युनिटी मेडिकल सेन्टरमा कार्यरत चिकित्सक तथा नर्सहरू, नेपाली समुदायका प्रतिनिधि लगायत सम्बन्धित सबैप्रति नेपाली राजदूतावास, बहराइनले हार्दिक धन्यवाद व्यक्त गरेको छ।