काठमाडौं, फागुन २६ – मलेसियामा मानसिक समस्याबाट ग्रसित भई सडकमा कष्टकर जीवन बिताइरहेका एक नेपाली नागरिकको नेपाल दूतावास र पीएनसीसीको समन्वयमा उद्धार गरी स्वदेश फिर्ता गरिएको छ।
नवलपरासी (पूर्व) स्थित कोइलापानी, कावासोती नगरपालिका–१ निवासी अमर बहादुर बस्नेत रोजगारीको सिलसिलामा सन् २०२२ मा मलेसिया आएका थिए। प्रारम्भिक चरणमा कम्पनी राम्रो भए पनि साथिभाइको प्रभावका कारण उनले कम्पनी छाडेका थिए। त्यसपछि विगत दुई वर्षदेखि अवैधानिक रूपमा बस्दै काम गर्दै आएका थिए।
पछिल्लो १५ दिनदेखि मानसिक समस्या बढ्दै गएपछि उनी कोताराया, केएल आसपास क्षेत्रमा मागेर खाने र सडकमा बास बस्ने अवस्थामा पुगेका थिए। उनको नाजुक अवस्थाबारे व्यवसायी शान्ति थापाले नेपाल तामाङ घेदुङ संघ मलेसियाका प्रतिनिधिलाई जानकारी गराएपछि उक्त संस्थाले Pravasi Nepali Coordination Committee (PNCC) सँग समन्वय गरेको थियो।
सोही दिन पीएनसीसीका आउटरीच कोअर्डिनेटर पूर्ण लिम्बूले बस्नेतका एक गाउँले साथीको सहयोगमा कोतारायास्थित थापा ग्रेट सेन्टरबाट उनको उद्धार गरी Embassy of Nepal, Kuala Lumpur पुर्याएका थिए। दूतावासले स्वदेश फिर्ताका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको थियो।
बस्नेतसँग सक्कली राहदानी (पासपोर्ट) साथमै रहेकोले दूतावासले भोलिपल्टै फिङ्गरप्रिन्ट गराई ‘आउट पास’ उपलब्ध गराएको जनाएको छ। नेपाल फर्किन टिकट किन्ने आर्थिक अवस्था नभएकाले पीएनसीसीको समन्वयमा दूतावासले एकतर्फी हवाई टिकटको व्यवस्था मिलाएको थियो।
उनी २६ फेब्रुअरी २०२६ मा नेपाल फर्किएका हुन्। उनलाई Tribhuvan International Airport, काठमाडौंमा पीएनसीसीका कर्मचारी हर्कबहादुर लिम्बूले स्वागत गरी पीएनसीसीको आवास गृहमा लगिएको थियो। तीन दिनसम्म आवास गृहमा बसोबासपछि उनी आफ्नै घर फर्किएका छन्।
आर्थिक अवस्था कमजोर (बेखर्ची) रहेकाले पीएनसीसीले घरसम्म पुग्ने खर्चसमेत व्यवस्था गरी उनलाई परिवारको जिम्मा लगाएको जनाएको छ।