प्रतिनिधिसभा निर्वाचनको मतदान देशभर शान्तिपूर्ण रूपमा सम्पन्न

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज देशभर भएको मतदान छिटपुट सामान्य घटनाबाहेक शान्तिपूर्ण तथा उत्साहजनक वातावरणमा सम्पन्न भएको छ।

निर्वाचन आयोग द्वारा तोकिएको समयअनुसार बिहान ७:०० बजेदेखि सुरु भएको मतदान साँझ ५:०० बजे सम्पन्न भएको हो। आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरका अनुसार मतदान समय साँझ ५:०० बजेसम्म तोकिए पनि मतदान केन्द्रमा लाइनमा बसेका मतदाताले त्यसपछि पनि आफ्नो मताधिकार प्रयोग गर्न पाउने व्यवस्था गरिएको थियो।

आयोगका अनुसार हालसम्म कुनै पनि मतदान केन्द्रमा मतदान औपचारिक रूपमा स्थगित गरिएको छैन। केही स्थानमा भने सामान्य विवाद देखिए पनि ती समस्या समाधान गरिएका छन्। विशेषगरी दोलखा, सर्लाहीरौतहट जिल्लाका केही मतदान केन्द्रमा देखिएको विवाद समाधान भएपछि मतदान पुनः सुचारु भएको थियो। दोलखाको तामाकोशी–४ स्थित मालु मतदानस्थलमा केही समय रोकिएको मतदान पुनः सञ्चालनमा आएको आयोगले जनाएको छ।

निर्वाचनको विस्तृत विवरण सार्वजनिक गर्न आयोगले आज साँझ ६:१५ बजे पत्रकार सम्मेलन गर्ने जनाएको छ।

यस निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ ६१ वटा निर्वाचन चिह्नमार्फत ६५ राजनीतिक दलले प्रतिस्पर्धा गरेका छन्। प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी कुल तीन हजार ४०६ उम्मेदवार चुनावी मैदानमा छन्।

त्यसैगरी समानुपातिक निर्वाचन प्रणाली तर्फ एक हजार ३६३ पुरुष र एक हजार १ हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्। प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन भएको हो।

निर्वाचनमा कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता सहभागी हुने व्यवस्था गरिएको थियो। यसमध्ये ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य मतदाता रहेका छन्। साथै एक लाख ८६ हजार १४२ अस्थायी मतदाता पनि कायम गरिएको थियो।

निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको थियो भने १४३ अस्थायी मतदानस्थलसमेत व्यवस्था गरिएको थियो। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त तथा गर्भवती महिलालाई सहज रूपमा मतदान गर्न प्राथमिकता दिने व्यवस्था गरिएको थियो।

निर्वाचनको सुरक्षाका लागि नेपाली सेना का ७९ हजार ७२७, नेपाल प्रहरी का ७५ हजार ७९७, सशस्त्र प्रहरी बल का ३४ हजार ५६७, राष्ट्रिय अनुसन्धान विभाग का एक हजार ९२१ तथा निर्वाचन प्रहरीका एक लाख ४९ हजार ९० जना सुरक्षाकर्मी परिचालन गरिएको थियो।

सम्बन्धित खबर