काठमाडौं । लागूऔषधसहित प्रहरीले देशका विभिन्न स्थानबाट ११ जनालाई पक्राउ गरेको छ।
झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १४ ग्राम ६ सय ६० मिलिग्राम सहित कमल गाउँपालिका-६ त्रिवेणी चोक बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी झापाको दमक नगरपालिका-९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ८० मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने कमल गाउँपालिका-१ घर भएका ३० वर्षीय सुर्य भन्ने बुद्धि साहुलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले मे.१ ह ५३४६ नम्बरको अटो जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक बुद्धिलाई पक्राउ गरेको हो। साथै थप अनुसन्धानको क्रममा अटो धनी सोही नगपालिका-९ बस्ने अर्जुनधारा नगरपालिका-११ घर भएका ३२ वर्षीय सन्देश भन्ने टिका बहादुर तामाङको कोठा तलासी गर्दा ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १५ ट्याब्लेट फेला पारी टिका बहादुरलाई समेत प्रहरीले पक्राउ गरेको छ।
पर्साको वीरगंज महानगरपालिका-३१ कटगेनवा टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ ग्राम ३५ मिलिग्राम र डिजिटल तराजु १ थान सहित सोही महानगरपालिका-३२ परासवा टोल बस्ने २० वर्षीय राहुल सिंह समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पटेर्वासुगौली समेतबाट खटिएको प्रहरीले भेडियाहीबाट मिलन चोकतर्फ आउँदै गरेको ना.३९ प २५३२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१० बसपार्कबाट नियन्त्रित लागूऔषध फेनारगन ६ एम्पुल र नोर्फिन ३ एम्पुल सहित सोही उपमहानगरपालिका-१३ पदमपोखरी बस्ने २६ वर्षीय निग्मा लामालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
बाँकेको बैजनाथ गाउँपालिका-१ मानखोलाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही गाउँपालिका-१ बस्ने २४ वर्षीय समिर शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय २० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मुगु छायाँनाथ रारा नगरपालिका-१ घर भएका २९ वर्षीय नरेश शाही र झापा घर भएका ३३ वर्षीय अविषेक केसी रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
सुनसरीको इटहरी उपमहानगरपालिका-२ हलगडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय कृष्ण राईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ। सामुदायिक प्रहरी बिट हलगडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
कास्कीको पोखरा महानगरपालिका-५ बाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ३९ हजार ५ सय ट्याब्लेट र नगद १ लाख ८९ हजार ५ सय रूपैयाँ सहित सोही ठाउँ डेरा गरी बस्ने २९ वर्षीय मनिष ठकुरीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।