गर्मीसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढ्यो

काठमाडौं, ०४ जेठ । नेपालमा गर्मी मौसम सुरु भएसँगै अण्डाको उत्पादन घट्न थालेपछि बजारमा मूल्य वृद्धि भएको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले सोमबारदेखि लागू हुने गरी अण्डाको नयाँ समर्थन मूल्य निर्धारण गरेको हो। अब ठूलो अण्डाको मूल्य प्रतिकरेट ५१५ रुपैयाँ र मध्यम अण्डाको ४८५ रुपैयाँ कायम गरिएको छ। उपभोक्ताले भने प्रतिगोटा करिब २५ रुपैयाँ तिर्नुपर्ने भएको छ।

यसअघि ठूलो अण्डाको मूल्य ४८५ रुपैयाँ र मध्यम अण्डाको ४३५ रुपैयाँ थियो। सङ्घका अनुसार पछिल्लो समय अत्यधिक गर्मीका कारण कुखुराले कम अण्डा दिन थालेका छन्। साथै, बिदाको समयमा आन्तरिक पर्यटन बढ्दा होटल तथा रेस्टुरेन्टमा अण्डाको खपत पनि बढेको छ, जसले बजारमा माग उच्च बनाएको छ।

कुखुरापालक किसानले रोगका कारण कुखुरा मर्नु, जनशक्तिको अभाव हुनु र लागतअनुसार मूल्य नपाउनुजस्ता समस्याले व्यवसाय संकटमा परेको बताएका छन्। सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार एउटा अण्डाको उत्पादन लागत १९ रुपैयाँभन्दा बढी पर्छ, तर किसानले अझै उचित मूल्य पाउन सकेका छैनन्।

देशभरका विभिन्न पोल्ट्री फार्मले तोकेको मूल्यलाई आधार मानेर सङ्घले समर्थन मूल्य तय गर्ने गरेको जनाएको छ। पछिल्ला वर्षहरूमा घाटा बढ्दै जाँदा धेरै किसान कुखुरापालन व्यवसाय छोड्न बाध्य भएको व्यवसायीहरूको भनाइ छ।

सम्बन्धित खबर