काठमाडौँ । तत्कालीन गृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुधन गुरुङले आफूविरुद्ध केही सञ्चारमाध्यमले भ्रमपूर्ण र तथ्यहीन समाचार प्रकाशित गरेको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता गराउनुभएको छ।
केही दिनअघि विभिन्न अनलाइन तथा मिडियामा “सुधन गुरुङ युवतीसहित रिसोर्ट पुगेको प्रमाण प्रहरीको नियन्त्रणमा” शीर्षकमा प्रकाशित समाचारप्रति गम्भीर आपत्ति जनाउँदै उहाँले कानुनी उपचारको बाटो रोज्नुभएको हो।
सांसद गुरुङले उक्त समाचार पूर्णतः कपोकल्पित र आधारहीन रहेको उल्लेख गर्नुभएको छ। आफ्नो पारिवारिक भ्रमणको विषयलाई बदनियतपूर्वक तोडमरोड गरी अनर्गल प्रचार गरिएको उहाँको दाबी छ।
“पारिवारिक भ्रमणमा गएको सामान्य घटनालाई जबर्जस्ती भ्रामक रूप दिएर मेरो राजनीतिक र सामाजिक चरित्र हत्या गर्ने उद्देश्यले ‘पित पत्रकारिता’ गरिएको छ,” उजुरीमा भनिएको छ।
उक्त भ्रामक समाचार लेख्ने संवाददाता दिनेश थापा विरुद्ध गुरुङले प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कडा कारबाही र सजायको माग गर्नुभएको छ। विना तथ्य र प्रमाण कसैको व्यक्तिगत जीवनमा आँच आउने गरी समाचार सम्प्रेषण गर्नु पत्रकारिताको आचारसंहिता विपरीत रहेको भन्दै उहाँले दोषीमाथि तत्काल आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन काउन्सिलसमक्ष आग्रह गर्नुभएको छ।
प्रेस काउन्सिल नेपालले उजुरी दर्ता भइसकेकाले यस विषयमा आवश्यक छानबिन अघि बढाउने जनाएको छ।
