सर्लाहीमा सोधपुछका लागि चौकीमा बोलाएर प्रहरीद्वारा निर्घात कुटपिट

सर्लाही। सर्लाहीको हरकठवास्थित इलाका प्रहरी कार्यालयमा सोधपुछका लागि बोलाइएका एक व्यक्तिमाथि प्रहरी जवानले निर्घात कुटपिट गरेको बाहिरिएको छ। कुटपिटबाट धनकौल गाउँपालिका – ५ हरकठवाका फेकु दास गम्भीर घाइते भएका छन् ।

दासका अनुसार उनी बुधबार दिउँसो श्रीमतीसहित इलाका प्रहरी कार्यालय हरकठवा पुगेका थिए । उनका दुई छोराले अध्ययन गरेको साइनिङ स्टार बोर्डिङ स्कुलको १३ हजार रुपैयाँ शुल्क बाँकी रहेको भन्दै विद्यालय सञ्चालक संजय साहले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा निवेदन दिएका थिए ।

सोही निवेदनका विषयमा बुझ्न प्रशासनले प्रहरी कार्यालयलाई पत्राचार गरेपछि आफूलाई बोलाइएको उनले बताए । प्रहरी कार्यालय पुगेपछि आफूलाई एउटा कागजातमा हस्ताक्षर गर्न भनिएको तर विद्यालयको सम्पूर्ण शुल्क बुझाइसकेको भन्दै हस्ताक्षर गर्न नमानेपछि प्रहरी जवान रामजीवन पासवानले कार्यालयभित्रको एक कोठामा लगेर कुटपिट गरेको दासको आरोप छ ।

कुटपिटबाट दासको बायाँ हात, तिघ्रा र पिठ्युँमा चोट लागेको छ । उनलाई उपचारका लागि बरहथवास्थित हनुमन्त अस्पताल लगिएको थियो । त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर रेफर गरिएको बताईएको छ ।

इलाका प्रहरी कार्यालय हरकठवाका प्रमुख प्रहरी नायब निरीक्षक (सई) पदम खड्काले कार्यालयभित्र दास र प्रहरी जवान पासवानबीच विवाद भएको स्वीकार गरे । ‘उहाँहरूबीच विवाद भएको हो । त्यसक्रममा कुटपिट भएको हो,’ उनले भने ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रबिन्द्रनाथ पौडेलले घटनाबारे जानकारी प्राप्त भएको र छानबिन सुरु गरिएको बताए । उनका अनुसार प्रारम्भिक जानकारी अनुसार दासले मदिरा सेवन गरेर प्रहरीमाथि हातपात गर्न खोजेपछि विवाद भएको बुझिएको छ।

सम्बन्धित खबर