नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा डिकबहादुर खत्री प्यानलको शानदार विजय

काठमाडौं, जेठ २५ — नेपाल वैदेशिक रोजगार व्यवसायी संघको सम्पन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार डिकबहादुर खत्री (कुमार) प्यानलसहित विजयी भएका छन्। नेकपा एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेकपा निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च तथा नेपाली कांग्रेस निकट केही व्यवसायीहरूको संयुक्त समर्थनमा बनेको संयुक्त व्यवसायी समूह ले निर्वाचनमा प्यानलसहित उम्मेदवारी दिएको थियो।

अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा खत्रीले नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका उम्मेदवार तथा संघका पूर्वमहासचिव मेघनाथ भुर्तेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी समूहका उम्मेदवार, संघका पूर्वप्रथम उपाध्यक्ष हरिबहादुर पाण्डे क्षेत्री लाई पराजित गर्दै नेतृत्व हात पारेका हुन्।

निर्वाचन परिणामअनुसार अध्यक्ष पदमा विजयी खत्रीले ३४७ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी भुर्तेलले १९२ मत र पाण्डे क्षेत्रीले १७० मत प्राप्त गरेका छन्।

मतगणनाको अन्तिम परिणामअनुसार अन्य पदाधिकारीहरूमा पनि खत्री समूहले उल्लेखनीय सफलता हासिल गरेको छ। प्रथम उपाध्यक्षमा महेश बस्नेत (२४१ मत), द्वितीय उपाध्यक्षमा अनिल बोगटी (३१५ मत), तृतीय उपाध्यक्षमा लक्ष्मण पौडेल (२५९ मत), महासचिवमा हरि डाँगी (२७३ मत), सचिवमा केदारनाथ अधिकारी (२९४ मत) तथा कोषाध्यक्षमा धनमाया सिन्जाली (३२३ मत) प्राप्त गर्दै विजयी भएका छन्।

१७ सदस्यीय कार्यसमितिको निर्वाचन परिणामले पनि खत्री नेतृत्वको समूहको स्पष्ट वर्चस्व देखाएको छ। पदाधिकारीतर्फ ७ मध्ये ६ पदमा तथा १० कार्यसमिति सदस्यमध्ये ८ पदमा प्रगतिशील प्यानलले विजय हासिल गरेको छ।

यता नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको प्यानलबाट तृतीय उपाध्यक्ष लक्ष्मण पौडेल तथा सदस्यहरू गीता राउत र दीक्षा दाहाल विजयी हुन सफल भएका छन्।

निर्वाचन परिणामसँगै संघको नयाँ नेतृत्वले वैदेशिक रोजगार क्षेत्रका चुनौतीहरू समाधान, व्यवसायीहरूको हकहित संरक्षण तथा क्षेत्रको सुधारका लागि प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ। नयाँ कार्यसमितिको कार्यकालमा व्यवसायीहरूको एकता, पारदर्शिता र नीतिगत सुधारका विषय प्राथमिकतामा पर्ने विश्वास गरिएको छ।

सम्बन्धित खबर