काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आज भइरहेको निर्वाचनमा मतपत्र समयमै उपलब्ध हुन नसक्दा मतदान प्रक्रिया ढिलो भएको छ। निर्वाचन स्थलमा मतदाताहरू उपस्थित भए पनि मतपत्र तयारी तथा वितरण प्रक्रियामा भएको ढिलाइका कारण निर्धारित समयअनुसार मतदान सुरु हुन सकेन।
निर्वाचन समितिका अनुसार प्राविधिक तथा व्यवस्थापकीय कारणले मतपत्र वितरणमा केही समय लागेको र आवश्यक तयारी पूरा भएपछि मतदान प्रक्रिया अघि बढाइने जनाइएको छ। मतदानमा सहभागी व्यवसायीहरूले भने समयमै मतदान सुरु नहुँदा असहजता भएको बताएका छन्।
संघको नयाँ नेतृत्व चयनका लागि विभिन्न समूह तथा प्यानलबीच प्रतिस्पर्धा भइरहेको छ। निर्वाचनप्रति व्यवसायीहरूको उच्च चासो देखिएको छ भने मतदान प्रक्रिया निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्ने तयारी गरिएको निर्वाचन समितिले जनाएको छ।
मतपत्रको समस्या समाधान भएसँगै मतदान प्रक्रिया छिट्टै सुरु हुने अपेक्षा गरिएको छ।