काठमाडौं, जेठ २४ — नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विशेष साधारण सभा तथा निर्वाचन कार्यक्रम अन्तर्गत मतदान प्रक्रियालाई व्यवस्थित बनाउन निर्वाचन समितिले मतदान समयसम्बन्धी विशेष सूचना जारी गरेको छ।
निर्वाचन समितिद्वारा जारी सूचनाअनुसार संघको निर्वाचनका लागि आज दिउँसो २:०० बजेदेखि बेलुका ८:०० बजेसम्म मतदान कार्यक्रम सञ्चालन हुनेछ। समितिले सम्बन्धित पक्षका प्रतिनिधि तथा प्रत्याशीहरू निर्धारित समयभित्र मतदानस्थलमा उपस्थित भइसक्न आग्रह गरेको छ।
सूचनामा बेलुका ६:०० बजेसम्म मतदानका लागि लाइनमा बसिसक्नुपर्ने उल्लेख गरिएको छ। सो समयपछि लाइनमा नबस्ने मतदाताले मतदान प्रक्रियामा सहभागी हुन नपाउने स्पष्ट पारिएको छ।
निर्वाचन समितिका सदस्य सचिव देवराज कटुवाल, निर्वाचन अधिकृत भवानी प्रसाद निरौला तथा प्रमुख निर्वाचन अधिकृत टंक बहादुर राउत ले संयुक्त रूपमा हस्ताक्षर गरी उक्त सूचना जारी गरेका हुन्।
यसअघि मतपत्र उपलब्ध हुन ढिलाइ भएका कारण मतदान कार्यक्रम प्रभावित भएको बताइएको छ। निर्वाचन समितिले मतदान प्रक्रिया निष्पक्ष, व्यवस्थित र समयमै सम्पन्न गर्न सम्बन्धित सबै पक्षलाई सहयोग गर्न अनुरोध गरेको छ।
