लिस्बन — गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् पोर्चुगलले नेपाली राजदूतावास, लिस्बनसँग महत्वपूर्ण भेटवार्ता गरेको छ।
सोमबार एनआरएनए पोर्चुगलको टोलीले दूतावासमा पुगेर महामहिम राजदूत प्रकाशमणि पौडेल, नियोग प्रमुख शत्रुधन प्रसाद शर्मा पोखरेल तथा मुख्य सचिव रामबाबु नेपालसँग छलफल गरेको हो।
भेटका क्रममा एनआरएनएको तर्फबाट प्रहरी रिपोर्टमा देखिएको नक्कली छाप (फेक स्ट्याम्प) सम्बन्धी गम्भीर विषय उठाइएको थियो। उक्त समस्याका कारण प्रभावित नेपालीहरूलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा दूतावासले समन्वयकारी भूमिका निर्वाह गरिरहेको जनाएको छ। साथै, यस सम्बन्धमा एआइएमए तथा पोर्चुगलको परराष्ट्र मन्त्रालयसँग निरन्तर संवाद भइरहेको जानकारी दिएको छ।
एनआरएनए पोर्चुगलले आगामी चरणमा एआइएमएको सहकार्यमा सहयोग शिविर सञ्चालन गरी नेपालीहरूलाई आवश्यक सेवा उपलब्ध गराउन पहल गरिदिन दूतावाससँग आग्रह गरेको छ। साथै, हाल एआइएमएबाट आउने “फाल्ता” कागजात सिटीटी मार्फत पठाउने बित्तिकै स्वतः डिपोर्टेसन प्रणाली देखिने समस्यालाई गम्भीर रूपमा उठाउँदै त्यसलाई प्राथमिकतामा राखी समाधानका लागि पहल गर्न अनुरोध गरिएको छ।
त्यसैगरी, दूतावासले प्रमाणीकरण गरेपछि नोटरी वा अल्कान्टाराको थप छाप आवश्यक नपर्ने जानकारी दिएको भए पनि व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन नभएको गुनासो गरिएको छ। उक्त विषयलाई पनि प्राथमिकतामा राखी सबै एआइएमए केन्द्रहरूमा स्पष्ट निर्देशन प्रवाह गराउने काम भइरहेको दूतावासले जनाएको छ।
एनआरएनए पोर्चुगल र दूतावासबीचको यस छलफलले पोर्चुगलमा रहेका नेपालीहरूको समस्या समाधानतर्फ सकारात्मक पहल हुने अपेक्षा गरिएको छ।