काठमाडौं, ०४ जेठ । पछिल्ला दुई दिनमा तीव्र रूपमा घटेको सुनको भाउ आज भने फेरि उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेर २ लाख ९४ हजार ८ सय रुपैयाँ पुगेको हो।
यसअघि शुक्रबार सुनको मूल्य एकैदिन ४ हजार रुपैयाँले घटेको थियो भने आइतबार थप ४ हजार ५ सय रुपैयाँले ओरालो लागेको थियो। लगातारको गिरावटपछि आज बजारमा केही सुधार देखिएको व्यवसायीहरूले बताएका छन्। हिजोसम्म प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको सुन आज पुनः महँगिएको हो।
सुनको मूल्य बढे पनि चाँदीको भाउ भने घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला २० रुपैयाँले सस्तिएर ५ हजार ४० रुपैयाँ कायम भएको छ।
नेपाली बजारमा यसअघि माघ १५ गते सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको थियो। त्यसदिन सुन प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो।
चाँदीतर्फ पनि माघ महिनामै ऐतिहासिक उतारचढाव देखिएको थियो। माघ १५ गते प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ पुगेको चाँदी तीन दिनपछि माघ १८ गते एकैदिन १ हजार ५ सय ६५ रुपैयाँले घटेको थियो।