काठमाडौं, ०४ जेठ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८१र८२ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ। संस्थाको जेठ १ गते बसेको सञ्चालक समिति बैठकले वितरणयोग्य मुनाफा सञ्चित गर्ने निर्णय गर्दै यस वर्ष लाभांश प्रस्ताव नगर्ने निष्कर्ष निकालेको हो।
कम्पनीका अनुसार आर्थिक वर्षको अन्त्यसम्म कायम रहेको मुनाफालाई भविष्यको वित्तीय सुदृढीकरण तथा संस्थागत स्थायित्वका लागि जगेडा राखिनेछ।
सञ्चालक समितिको निर्णयअनुसार आर्थिक विवरणहरू स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गरिनेछ। केन्द्रीय बैंकबाट आवश्यक संशोधन, सुझाव वा निर्देशन प्राप्त भएमा त्यसलाई समावेश गरी आगामी वार्षिक साधारणसभामा अनुमोदनका लागि पेश गर्ने तयारी गरिएको संस्थाले जनाएको छ।
लघुवित्त संस्थाहरूले पछिल्लो समय वित्तीय दबाब, नियामकीय व्यवस्था तथा पूँजी व्यवस्थापनलाई प्राथमिकतामा राख्दै लाभांश वितरणमा संयमता अपनाइरहेका छन्। नाडेप लघुवित्तको निर्णयलाई पनि सोही रणनीतिका रूपमा हेरिएको छ।