रौतहट, ४ जेठ । जिल्ला प्रहरी कार्यालय रौतहटले पछिल्लो एक महिनामा अपराध नियन्त्रण, तस्करी रोकथाम र फरार प्रतिवादी पक्राउ अभियानमा उल्लेखनीय सफलता हासिल गरेको छ। प्रहरीको सक्रियताले बैशाख महिनाभर जिल्लाभर सुरक्षा निगरानी थप कडा बनेको देखिएको छ।
प्रहरी प्रमुख एसपी सिताराम रिजालको निर्देशनमा सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत बैशाख १ गतेदेखि ३१ गतेसम्म भन्सार छलि अवैध रूपमा भित्र्याइएका सामान बरामद गरी ४६ लाख २३ हजार ७३३ रुपैयाँ बराबरको राजश्व संकलन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
सदरमुकाम गौरसहित विभिन्न नाकाबाट तस्करी गरी ल्याइएका सामान नियन्त्रणमा लिनुका साथै तस्करीमा प्रयोग भएका १३ वटा सवारी साधन समेत प्रहरीले बरामद गरेको छ। घटनामा संलग्न एक जनालाई पक्राउ गरी कारबाही अघि बढाइएको प्रहरी प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।
ट्राफिक कारबाहीबाट मात्रै ११ लाख बढी राजश्व
ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १६३ सवारी साधन माथि गरिएको कारबाहीबाट ११ लाख २२ हजार ५०० रुपैयाँ राजश्व संकलन भएको ट्राफिक इन्स्पेक्टर राजेन्द्र थापा मगरले बताएका छन्। यस्तै, बैशाख महिनामा जिल्लाभर ९९ वटा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।
अपराध अनुसन्धानमा पनि सक्रियता
प्रहरी तथ्याङ्कअनुसार बैशाख महिनामा ज्यान सम्बन्धी ५, आत्महत्या ६, चोरी ७, संगठित तथा आर्थिक अपराध १९, सामाजिक अपराध ४१ तथा महिला तथा बालबालिकासम्बन्धी ४ वटा मुद्दा दर्ता भएका छन्। त्यस्तै जघन्य प्रकृतिका अपराधअन्तर्गत कर्तव्य ज्यान १, हातहतियार १, मानव बेचबिखन १, बैंकिङ कसुर ९ तथा ठगीका ९ वटा मुद्दा दर्ता भई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
घरेलु हिंसा र ठाडो उजुरीमा फर्छ्योट
बैशाख महिनामा दर्ता भएका ३७ घरेलु हिंसाका उजुरीमध्ये २८ वटा फर्छ्योट गरिएको छ। त्यस्तै १२७ ठाडो उजुरीमध्ये ७७ वटा तथा जिल्ला प्रशासन कार्यालयमार्फत आएका १२५ उजुरीमध्ये ७५ वटा समाधान गरिएको प्रहरीले जनाएको छ। अनुचित लेनदेनसम्बन्धी ३ वटा मुद्दा फर्छ्योट गर्दै पीडितलाई ६ लाख ५५ हजार रुपैयाँ फिर्ता गराइएको छ।
लागुऔषध नियन्त्रण अभियान तीव्र
लागुऔषध नियन्त्रणतर्फ ६ वटा मुद्दा दर्ता गरी ५ जनालाई पक्राउ गरिएको छ। प्रहरीले ३२ किलोभन्दा बढी गाँजा, ३०९ थान नशालु इन्जेक्सन तथा ५ हजार ३९३ ट्रामाडोल क्याप्सुल बरामद गरेको जनाएको छ।
बैशाख २५ गतेदेखि सुरु गरिएको ‘लागुऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी अभियान’ अन्तर्गत २४ जनाको परीक्षण गरिएको थियो। जसमध्ये ७ जनालाई परिवारको जिम्मा लगाइएको तथा १५७ जनासँग सोधपुछ गरिएको प्रहरीले जनाएको छ।
फरार प्रतिवादीमाथि कडाइ
फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत बैशाख महिनामा मात्रै ५७ जना पक्राउ परेका छन्। पक्राउ परेकामाथि अदालतबाट तोकिएको १७ वर्ष २८ दिन कैद तथा ३२ लाख रुपैयाँभन्दा बढी जरिवाना असुल गरिएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ।
शान्ति सुरक्षामा व्यापक परिचालन
जिल्लामा शान्ति सुरक्षा कायम गर्न प्रहरीद्वारा ५५८ मोबाइल गस्ती, ५१० पैदल गस्ती, १ हजार २० ग्रामीण गस्ती, ३१० चेकिङ तथा ४६५ पिकेट परिचालन गरिएको थियो।
यसका साथै १४ एलआरपी र ३ हजार २२४ एसआरपी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ। मेला, सभा तथा अन्य सार्वजनिक कार्यक्रममा १९६ प्रहरी जनशक्ति परिचालन गरिएको थियो।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ४१ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएकोमा १ हजार ६४४ जना सहभागी भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।