पासाङ दावा शेर्पा ३१ औं पटक सगरमाथा शिखरमा, कामिरिता भन्दा एक कम

नेपाली पर्वतारोही तथा प्रख्यात आरोहण गाइड पासाङ दावा शेर्पाले शुक्रबार बिहान ३१ औं पटक सगरमाथाको सफलतापूर्वक आरोहण गरेका हुन ।

 

शुक्रबार बिहान आफ्नो प्रख्यात पर्वतारोहण करियरमा अर्को उल्लेखनीय उपलब्धी थपेको जनाइएको छ । उनको ३१ औं आरोहणसँगै उनी अर्का प्रख्यात आरोही कामिरिता शेर्पाको ३२ औं आरोहणको किर्तिमान भन्दा अब एक कदम मात्रै पछि रहेका छन् । कामिरिताले सबैभन्दा बढी ३२ पटक सगरमाथाकाे शिखर चुमेर लामाे समय देखी विश्व रेकर्ड कायम गरिरहेका छन् । यस सिजनमा पनि उनले अाफ्नाे रेकर्ड ताेडदै  उनले ३२ औं पटक सफल आरोहण गरेका थिए ।

 

ट्याग नेपाल ट्रेक्स एण्ड एक्सपिडिसन प्रालि का सह–संस्थापक टेन्डी शेर्पाका अनुसार दावा शेर्पाले आज बिहान ४ः२० बजे सगरमाथाको शिखरमा पुगेका थिए।

 

यस वसन्त ऋतुको सुरुमा उनले सगरमाथाको यसअघि अर्को सफल आरोहण पूरा गरिसकेका थिए, जसले गर्दा उनको कुल आरोहण संख्या ३१ पुग्न गएको हो ।

 

यो अभियान क्लाइम्बिङ द सेभेन समिट र ट्याग नेपाल ट्रेक्स एण्ड एक्सपिडिसन प्रालिद्वारा संयुक्त रूपमा आयोजना गरिएको थियो।

पासाङ दावाले पहिलो पटक सन् १९९८ मा सगरमाथाको आरोहण गरेका थिए र नेपालका सबैभन्दा सम्मानित आरोहण गाइड र पर्वतारोही मध्ये एक मानिन्छन् । सगरमाथाको काखमा लगभग तीन दशकभन्दा बढी समय बिताउँदै उनले बारम्बार सफल सगरमाथा आरोहण गरेर असाधारण रेकर्ड बनाएका हुन्।


सम्बन्धित खबर