हेटौँडा–१५ मा खुलेआम गाँजा खेती, जनप्रतिनिधिकै संरक्षण ?

हेटौँडा । मकवानपुर जिल्लामा अवैध लागूऔषधविरुद्ध प्रहरी प्रशासनले कैलाश र राक्सिराङ गाउँपालिकामा मात्रै केन्द्रित रूपमा गाँजा तथा अफिम फडानी गर्दै आएको बेला हेटौँडा उपमहानगरपालिका–१५ का विभिन्न स्थानमा भने लामो समयदेखि खुलेआम गाँजा खेती भइरहेको गम्भीर आरोप सार्वजनिक भएको छ।

स्थानीयवासीको सूचनापछि हाम्रो मिडिया टोली स्वयं हेटौँडा–१५ अन्तर्गतका माझी खोला, सल्लाघारी, चिपरेटी, बासघारी, सलाकारी र बङ्गेरी आसपासका विकट क्षेत्रमा स्थलगत अनुगमनमा पुगेको थियो। अनुगमनका क्रममा ती क्षेत्रहरूमा पुग्न मुख्य बस्तीबाट करिब एक किलोमिटर पैदल यात्रा गर्नुपर्ने देखियो। अमरेशगञ्ज तथा अमलेखगञ्जतर्फबाट सहज पहुँच हुने गोरेटो बाटो प्रयोग गरी उक्त स्थानमा पुग्न सकिने अवस्था रहेको पाइयो।

स्थानीय राजकुमार भुजेलका अनुसार यी क्षेत्रमा लामो समयदेखि व्यवस्थित रूपमा गाँजा खेती हुँदै आएको छ। “कैलाश र राक्सिराङमा फडानी हुन्छ, तर हेटौँडामा कसैले हेर्दैन,” उनले भने। उनका अनुसार स्थानीय जनप्रतिनिधि र केही प्रभावशाली व्यवसायीको मिलेमतोमै खेती संरक्षण भइरहेको आशंका स्थानीयवासीको छ।

नाम नखुलाउने सर्तमा एक स्थानीयले भने, “गाउँका सबैले थाहा पाएका कुरा हुन्, तर बोल्न डराउँछन्। जनप्रतिनिधि नै जोडिएका कारण कोही खुलेर बोल्दैन।”

करिब एक महिना अघि इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले रातमाटी क्षेत्रका केही सीमित स्थानमा मात्रै गाँजा फडानी गरेको स्थानीय जीवन तामाङले जानकारी दिए। तर समस्या देखिएका अधिकांश क्षेत्र अहिलेसम्म पनि प्रहरी कारबाहीको दायराबाहिर रहेको उनको भनाइ छ।

स्थानीयले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी कार्यालयसम्म पटक–पटक जानकारी गराइसकेको दाबी गरेका छन्। तर हेटौँडा उपमहानगरपालिका–१५ का वडा अध्यक्षकै मिलेमतोमा गाँजा खेती संरक्षण भइरहेको आरोप लागेपछि राज्य संयन्त्रकै निष्पक्षतामाथि प्रश्न उठ्न थालेको छ।

स्थानीयवासीले लागूऔषध उत्पादन तथा कारोबारप्रति सम्बन्धित सबै निकायले राजनीतिक वा स्थानीय दबाबभन्दा माथि उठेर निष्पक्ष छानबिन गरी प्रभावकारी कारबाही गर्न माग गरेका छन्। अन्यथा हेटौँडा–१५ लागूऔषधको सुरक्षित केन्द्र बन्दै जाने उनीहरूको चिन्ता छ।

सम्बन्धित खबर