काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष महेश श्रेष्ठले संघको आगामी नेतृत्वका लागि रोबिन शेरचन जस्तो विवादरहित र सबैलाई समेट्न सक्ने व्यक्तिको आवश्यकता रहेको बताएका छन् । एनआरएनएको १२औँ महाधिवेशनका लागि आइतबार जापानमा आयोजित रोबिन शेरचनको अध्यक्ष पदमा उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले यस्तो धारणा राखेका हुन् ।
अध्यक्ष श्रेष्ठले विगत ५ वर्षदेखि एनआरएनए आन्तरिक रूपमा विभाजित हुँदा विदेशमा रहेका ८० लाख नेपालीको आस्था र विश्वासमा चोट पुगेको स्वीकार गरे । उनले भने, “विभाजित संस्थाका कारण सरकार, कर्मचारीतन्त्र र निजी क्षेत्रको पनि हामीप्रतिको विश्वास टुटेको थियो । तर, हालै सम्पन्न वृहत एकताले नयाँ आधार तयार गरेको छ । अबको नेतृत्वले यो एकतालाई तार्किक निष्कर्षमा पुर्याउनुपर्छ, जसमा रोबिन शेरचन जस्तो स्वच्छ र विवादरहित छवि भएको व्यक्ति उपयुक्त पात्र हुनुहुन्छ ।”
आर्थिक समृद्धिको खाका र लगानीको प्रस्ताव
अध्यक्ष श्रेष्ठले नेपालको आर्थिक समृद्धिका लागि गैरआवासीय नेपालीहरूको ठूलो भूमिका हुने बताउँदै १९७० को दशकमा चिनियाँ प्रवासीहरूले हङकङ र मकाउबाट चीनको विकासमा खेलेको जस्तै भूमिका खेल्ने बेला आएको उल्लेख गरे । उनले १० लाख नेपालीले प्रतिमहिना २० हजार रुपैयाँ मात्र बचत गरी लगानी गर्ने हो भने वार्षिक २ खर्ब रुपैयाँभन्दा बढी पुँजी जम्मा गर्न सकिने तथ्याङ्क प्रस्तुत गरे ।
“हामीले १० अर्बको फण्ड बनाएका छौँ, जुन आइपिओमा जाने अन्तिम चरणमा छ । अब १ हजार मेगावाटको हाइड्रोपावर, रसायनिक मल उद्योग र हाइड्रोजन इन्धन जस्ता ठूला परियोजनामा एनआरएनएले लगानी गर्नुपर्छ,” श्रेष्ठले भने । विशेष गरी खाडी मुलुकमा रहेका नेपाली श्रमिकहरूको बचतलाई सुरक्षित गरी उनीहरू नेपाल फर्किएपछि पनि जीवनयापन गर्न सक्ने गरी प्रतिफल दिने योजना ल्याउनुपर्नेमा उनले जोड दिए ।
नेपालको संविधानले दिएको गैरआवासीय नेपाली नागरिकता अहिले ‘कागजको खोस्टो’ जस्तै भएको टिप्पणी गर्दै उनले विभिन्न मन्त्रालयसँग सम्बन्धित ऐनहरू परिवर्तन गरी यसलाई अधिकारमुखी बनाउनुपर्ने बताए ।
यसका लागि आगामी फेब्रुअरी १२ र १३ तारिखमा परराष्ट्र मन्त्रालयसँग बसेर गैरआवासीय नेपाली ऐनलाई अन्तिम रूप दिइने उनले जानकारी दिए। साथै, विदेशमा रहेका एक तिहाइ मतदातालाई नेपालको निर्वाचनमा मतदान गर्ने अधिकार (भोटिङ राइट) दिलाउन एनआरएनएले सशक्त अभियान चलाउने उनको प्रतिबद्धता थियो ।
आगामी मार्च १४ देखि १६ सम्म नेपालमा हुने १२ औँ अधिवेशनलाई विशेष महत्त्व दिँदै श्रेष्ठले परराष्ट्र मन्त्रालयको निर्देशन र विधान अनुसार बढीभन्दा बढी नेपालीलाई भौतिक रूपमै उपस्थित भएर मतदान गर्न आग्रह गरे । एनआरएनएको संरचना निर्वाचनमुखी मात्र भएको भन्दै उनले यसलाई संयुक्त राष्ट्र संघको जस्तै काममुखी र विवादरहित बनाउनुपर्ने धारणा राखे ।
कार्यक्रममा श्रेष्ठले जापानको एनआरएनएलाई फुट्न नदिएकोमा जापानस्थित अभियन्ताहरूको प्रशंसा गर्दै शेरचनलाई जीतको अग्रिम शुभकामना समेत दिएका थिए ।