एनआरएनए प्रथम उपाध्यक्षमा खगेन्द्र न्यौपानेको सशक्त उदय, विश्वभरका नेपालीको अधिकारका लागि दृढ आवाज बन्ने प्रतिबद्धता

काठमाडौं,गैर आवासीय नेपाली संघ एनआरएनएको प्रथम उपाध्यक्षमा खगेन्द्र न्यौपाने निर्विरोध निर्वाचित भएका छन । प्रवासमा रहेका लाखौं नेपालीको हक अधिकार, पहिचान र सम्मानका मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा उठाउँदै आएका न्यौपानेले आफ्नो कार्यकाललाई अधिकारमुखी, परिणाममुखी र एकतामूलक बनाउने स्पष्ट प्रतिबद्धता जनाएका छन ।

१२औँ विश्व महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन भइरहँदा न्यौपानेको विजयलाई प्रवासी नेपाली समुदायभित्र स्थिर, अनुभवी र समन्वयकारी नेतृत्वको रूपमा हेरिएको छ। शुरुमा अध्यक्षका प्रत्याशीका रुपमा हेरिएपनी पछि उनी प्रथम उपाध्यक्षमा सर्वसम्मतीमा बसेका थिए । मलेसियामा स्थापित व्यवसायी तथा दीर्घकालीन सामाजिक अभियन्ताका रूपमा परिचित उनी लामो समयदेखि प्रवासमा बसेर नेपाली समुदायका साझा मुद्दामा सक्रिय भूमिका खेल्दै आएका छन ।

निर्वाचनपछि आफ्नो धारणा राख्दै न्यौपानेले एनआरएनएलाई केवल संगठनका रूपमा नभई विश्वभरका नेपालीलाई मातृभूमिसँग जोड्ने विश्वासिलो सेतुका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए। “सुदृढ संगठन, दरिलो एकता : हाम्रो अभियान” भन्ने मूल मन्त्रसहित उनले ‘एक मन, एक संगठन’ को अवधारणालाई व्यवहारमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनका अनुसार प्रवासमा रहेका नेपाली श्रमिकहरूको सामाजिक सुरक्षा, श्रम अधिकार र सम्मानजनक कार्य वातावरण सुनिश्चित गर्नु अहिलेको सबैभन्दा महत्वपूर्ण आवश्यकता हो । यसका लागि सम्बन्धित देशका निकाय, दूतावास तथा सरोकारवाला संस्थासँग प्रभावकारी समन्वय गर्दै व्यवहारिक उपलब्धि हासिल गर्ने योजना उनले अघि सारेका छन्।

त्यसैगरी, गैरआवासीय नेपाली नागरिकता र प्रवासी नेपालीको मताधिकारजस्ता संवेदनशील तथा दीर्घकालीन एजेन्डालाई प्राथमिकतामा राख्दै संविधानले सुनिश्चित गरेका अधिकारको कार्यान्वयनका लागि सरकारसँग सशक्त पहल गर्ने उनले स्पष्ट पारे। “अधिकार कागजमा सीमित नभई व्यवहारमा सुनिश्चित हुनुपर्छ,” उनले भने।
संस्थाभित्र देखिएका मतभेद र विभाजन अन्त्य गर्दै साझा उद्देश्यका साथ संगठनलाई एकताबद्ध बनाउने लक्ष्यसमेत उनले राखेका छन । प्रवासमा आर्जित सीप, पूँजी र अनुभवलाई नेपालमा रूपान्तरण गर्दै राष्ट्रिय विकासमा ठोस योगदान पुर्‍याउने दिशामा एनआरएनएलाई अघि बढाउने उनको रणनीति छ।

न्यौपानेको नेतृत्वलाई प्रवासी नेपालीबीच अधिकारमुखी आवाज, समन्वयकारी क्षमता र व्यवहारिक दृष्टिकोणको संयोजनका रूपमा हेरिएको छ। उनले आफ्नो कार्यकालमा पारदर्शिता, उत्तरदायित्व र परिणाममुखी कार्यशैलीलाई केन्द्रमा राख्दै एनआरएनएलाई अझ विश्वासिलो र प्रभावकारी संस्थाका रूपमा स्थापित गर्ने अठोट व्यक्त गरेका छन ।

सम्बन्धित खबर