काठमाडौं। युरोप क्षेत्रमा रहेका नेपाली महिलाहरूको नेतृत्व, क्षमता अभिवृद्धि र योगदानको सम्मान गर्दै एनआरएनए युरोप क्षेत्र महिला विभागले आगामी अप्रिल ५, २०२६ आइतबार एक विशेष भर्चुअल कार्यक्रम आयोजना गर्ने भएको छ।
“नेतृत्व तपाईँको – सफलता हाम्रो / You Lead – We Elevate” भन्ने प्रेरणादायी नारासहित आयोजना हुन लागेको यो कार्यक्रमले महिला नेतृत्वको सशक्तीकरण, प्रेरणा र अन्तर्राष्ट्रिय अनुभव आदानप्रदानलाई केन्द्रमा राखेको छ।
कार्यक्रममा नेपाली समाजमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका विभिन्न विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहनेछ। कार्यक्रमकी प्रमुख अतिथि पूर्व परराष्ट्र मन्त्री डा. विमला राई पौडेल रहनुहुनेछ। त्यसैगरी नेपाली राजदूतावास, बेल्जियम की महामहिम राजदूत सेवा लम्साल, नेपाली राजदूतावास, डेनमार्क की महामहिम राजदूत सुम्निमा तुलाधर तथा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्मा विशिष्ट अतिथिका रूपमा सहभागी हुनेछन्।
युरोप क्षेत्रीय महिला संयोजक बाबा राजेश्वरी थापाको संयोजनमा हुन लागेको अनुसार यो कार्यक्रम विशेषतः महिला अभियन्ता, सामाजिक अगुवा, पेशागत क्षेत्रमा सक्रिय महिलाहरू तथा नयाँ पुस्ताका नेतृत्व विकासमा रुचि राख्ने सहभागीहरूका लागि प्रेरणादायी मञ्च बन्ने अपेक्षा गरिएको छ। कार्यक्रममार्फत महिलाहरूको नेतृत्वदायी भूमिका, अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली महिलाको उपस्थिति, अनुभव र उपलब्धिलाई उजागर गरिनेछ।
भर्चुअल माध्यम जुम मार्फत सञ्चालन हुने कार्यक्रम नेपाली समयअनुसार साँझ ६:०० बजे तथा युरोपियन समयअनुसार दिउँसो २:१५ बजे सुरु हुनेछ। कार्यक्रममा सहभागी हुन चाहनेहरूले जुमको Meeting ID: 884 9261 8116 र Passcode: 2026 प्रयोग गर्न सक्नेछन्।
NRNA Europe Regional Women Committee ले आयोजना गर्न लागेको यो कार्यक्रम महिला सशक्तीकरणको सन्देश फैलाउने मात्र नभई विश्वभर रहेका नेपाली समुदायबीच सहकार्य, सम्मान र प्रेरणाको वातावरण निर्माण गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। आयोजकले सबैलाई कार्यक्रममा सहभागी भई महिला नेतृत्वलाई उत्साह र सम्मान प्रदान गर्न अनुरोध गरेको छ।