अन्तर्राष्ट्रिय भरौल गोल्डकप : पेनाल्टीमा चित्लाङलाई स्तब्ध पार्दै आरटीएफसी मलेसिया फाइनलमा

बराहक्षेत्र, सुनसरी — सुनसरीको बराहक्षेत्र–५ कालाबन्जारस्थित जडेज खेलमैदानमा जारी ९ औँ अन्तर्राष्ट्रिय भरौल गोल्डकप २०८२ अन्तर्गत अन्तिम सेमिफाइनल खेलमा आरटीएफसी मलेसियाले चित्लाङ एफसी काठमाडौंलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।

दुवै टोलीमा राष्ट्रिय तथा विदेशी अनुभवी खेलाडीहरूको उपस्थितिका कारण खेल सुरुदेखि नै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको थियो। पहिलो हाफको ४१ औँ मिनेटमा चित्लाङ एफसीका मिलन पिटरले आकर्षक गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

तर दोस्रो हाफको १५ औँ मिनेटमा आरटीएफसी मलेसियाका देबेन्द्र तामाङले बराबरी गोल फर्काउँदै खेललाई पुनः प्रतिस्पर्धामा ल्याए। त्यसपछि निर्धारित समयमा थप गोल हुन नसक्दा खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।

पेनाल्टीमा आरटीएफसी मलेसियाले ४–३ को अन्तरले जित निकाल्दै फाइनलमा स्थान बनायो। उत्कृष्ट प्रदर्शन गरेका देबेन्द्र तामाङ ‘म्यान अफ द म्याच’ घोषित भए। उनलाई नगद रु ५ हजारसहित पुरस्कार प्रदान गरिएको थियो।

प्रतियोगिताको विजेताले नगद रु ४ लाख र उपविजेताले रु २ लाखसहित ट्रफी प्राप्त गर्नेछन्। अब फाइनल खेलमा आरटीएफसी मलेसियाले मोरङको पथरी–११ सँग २९ गते प्रतिस्पर्धा गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

न्यु स्टार फुटबल क्लबद्वारा आयोजित प्रतियोगिता स्थानीय स्तरमै अन्तर्राष्ट्रिय स्वरूपमा सञ्चालन हुँदै आएको छ।

सम्बन्धित खबर