मिल्सलाई २–० ले हराउँदै इटहरी भेट्रान च्याम्पियन

सुनसरी — इटहरीमा सम्पन्न छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान गोल्डकपको उपाधि आयोजक हाम्रो इटहरी भेट्रान क्लबले हात पारेको छ। शनिबार सम्पन्न फाइनल खेलमा मिल्स भेट्रान क्लब विराटनगरलाई २–० गोल अन्तरले पराजित गर्दै इटहरीले उपाधि जितेको हो।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर दोस्रो हाफमा इटहरीले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गर्न सफल भयो। सोही अग्रता नै अन्ततः निर्णायक सावित हुँदा मिल्स भेट्रान खेलमा फर्किन सकेन।

उपाधिसँगै इटहरी भेट्रानले नगद रु १ लाखसहित ट्रफी, शिल्ड र मेडल प्राप्त गरेको छ। उपविजेता मिल्स भेट्रानले नगद रु ५० हजारसहित ट्रफी, शिल्ड र मेडलमा चित्त बुझायो।

फाइनल पुग्ने क्रममा मिल्स भेट्रानले धरानको हाम्रो भेट्रान क्लबलाई हराएको थियो भने आयोजक इटहरीले दमक भेट्रानलाई पराजित गर्दै उपाधि भिडन्तमा स्थान बनाएको थियो।

प्रतियोगिताको फाइनलमा उत्कृष्ट प्रदर्शन गरेका इटहरीका भूपाल विष्ट ‘म्यान अफ द म्याच’ घोषित भए। व्यक्तिगत विधातर्फ बेस्ट गोलकिपर सुनिल तामाङ, बेस्ट डिफेन्डर रामशरण चौधरी (दुवै इटहरी), बेस्ट मिडफिल्डर डेनिम राई (मिल्स भेट्रान) घोषित भए।

यस्तै, इटहरीका लिलाराम मगर बेस्ट फरवार्ड, तिर्थ याक्सो हाइ स्कोरर तथा दीपेन तामाङ बेस्ट कोच घोषित भए। यी सबैले जनही नगद रु २५ सय प्राप्त गरे। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (एमभिपी) घोषित दिवश राईले नगद रु ३५ सयसहित सम्मान प्राप्त गरे।

सम्बन्धित खबर