रौतहट, ३ जेठ । जिल्ला प्रहरी कार्यालय रौतहटले इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख इन्स्पेक्टर भरत केसी लाई बैशाख महिनाको उत्कृष्ट ‘पुलिस अफ द मन्थ’ घोषणा गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटमा आईतवार एक कार्यक्रमको आयोजना गरी एसपी सिताराम रिजालले इन्स्पेक्टर केसीलाई उत्कृष्ट घोषणा गर्दै प्रशंसा–पत्र प्रदान गरेका छन्।
इन्स्पेक्टर केसीले ट्राफिक व्यवस्थापन, फरार प्रतिवादी पक्राउ तथा शान्ति सुरक्षाको क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले उनलाई २०८३ साल बैशाख महिनाको उत्कृष्ट प्रहरीका रूपमा सम्मान गरेको हो ।
उनले ट्राफिकसहितको संयुक्त चेकजाँच अभियान सञ्चालन गर्दै हेल्मेट नलगाई सवारी चलाउने, चालक अनुमति पत्र तथा आवश्यक कागजात बिना सवारी सञ्चालन गर्ने तथा भारतीय नम्बर प्लेटका कागजपत्र नबोकी चलाइएका करिब १२० वटा सवारी साधनलाई कारबाहीको दायरामा ल्याएका थिए ।
त्यसैगरी गत बैशाख २२ गते २स्४० बजेको समयमा मौलापुर आईटी चौक स्थित बारा हरनहिया हुँदै आउँदै गरेको मधेश प्रदेश ०३–०२७ प ५७५५ नम्बरको वीरगञ्जबाट चोरी ल्याएको मोटरसाइकलले एक स्थानीय महिला पैदल यात्रु लाई ठक्कर दिई गम्भीर घाइते बनाई मोटरसाइकल चालक मोटरसाइकल छाडी फरार भएको थियो।
दुर्घटनापछि विशेष अनुसन्धान र सिसिटिभि फुटेजको आधारमा फरार भएका चालक बारा सिम्रौनगढ नगरपालिका ३ बस्ने वर्ष २३ को जाविर अन्सारीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएको थियो।
एसपी सिताराम रिजालद्वारा प्रदान गरिएको उक्त प्रशंसा–पत्रमा प्रहरी निरीक्षक केसीले व्यवसायिकता, लगनशीलता र कर्तव्यनिष्ठाका साथ शान्ति सुरक्षाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको उल्लेख गरिएको छ ।