काठमाडौं। नेपाल चलचित्र निर्देशक समाजको १८औँ वार्षिक साधारण सभा तथा चुनावी अधिवेशन नजिकिँदै जाँदा निर्देशकहरूको चुनावी माहोल तातिएको छ। यही क्रममा अध्यक्ष पदका उम्मेदवार अरुण कुमार प्रधानको नेतृत्वमा ‘टिम अरुण’ले आफ्नो प्रतिबद्धतासहित चुनावी अभियानलाई तीव्र बनाएको छ।
टिमले “सशक्त निर्देशक, समृद्ध नेपाली सिनेमा” भन्ने नारासहित निर्देशक समाजलाई व्यवस्थित, डिजिटल र जिम्मेवार बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। साथै निर्देशकहरूको सम्मान, उद्योगको पुनर्जागरण, पहिचान, प्रवर्द्धन र संरक्षणमा आफूहरू प्रतिबद्ध रहने उल्लेख गरिएको छ।
टिम अरुणले व्यवसायिक, पारदर्शी र अन्तर्राष्ट्रियस्तरको निर्देशक समाज निर्माण गर्ने लक्ष्य लिएको बताएको छ। “एकता, सम्मान र सिर्जनशीलताको साझा अभियान” तथा “नयाँ सोच, नयाँ गति, नयाँ निर्देशक समाज” भन्ने अवधारणालाई समेत अघि सारिएको छ। प्रस्तावित चलचित्र विधेयकमा निर्देशक मैत्री चलचित्र विधेयक निर्माण गर्न सशक्त र जिम्मेवार योगदान रहने प्रतिबद्धता पनि टिमले प्रष्ट पारेको छ।
अरुण कुमार प्रधान अध्यक्ष पदका उम्मेदवार हुन् भने महासचिवमा समुद्र भट्ट, वरिष्ठ उपाध्यक्षमा शुभाष गजुरेल, उपाध्यक्षमा दीपक वली, सचिवमा राज बहादुर साने, कोषाध्यक्षमा उत्सव के.सी. र सह–कोषाध्यक्षमा भिम तामाङ उम्मेदवार रहेका छन्। सदस्य पदमा लक्ष्मण सुनार, यम शेर्पा र सागर केरुङ मैदानमा छन्।
टिम अरुणले नेपाली चलचित्र उद्योगलाई थप सशक्त, सिर्जनशील र व्यवस्थित बनाउने उद्देश्यसहित आफूहरूको उम्मेदवारी आएको जनाएको छ।