सिरहा ३ जेठ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सिरहाका ९५ वटा वडामा एकै समयमा वडा अधिवेशन सञ्चालन गरेको छ।
बिहान ११ बजेदेखि सुरु हुने अधिवेशन जिल्लाभरका विभिन्न नगरपालिका तथा गाउँपालिकामा जारी रहेको जनाइएको हो।
सिरहामा १७ वटा नगरपालिका तथा गाउँपालिका अन्तर्गत कुल १ सय ६४ वटा वडा रहेका छन्। तीमध्ये आज ९५ वटा वडामा अधिवेशन भइरहेको र बाँकी वडाको अधिवेशन पनि छिट्टै सम्पन्न गरिने रास्वपाले जनाएको छ।
रास्वपाका गोलबजार नगर सभापति धनेश्वर यादवका अनुसार केन्द्रिय सर्कुलर अनुसार नै जिल्लाभर वडा अधिवेशन सञ्चालन गरिएको हो। उनले भने, झआज एकै समयमा ९५ वटा वडामा अधिवेशन भइरहेको छ। बाँकी रहेका वडाको अधिवेशन पनि चाँडै गरिनेछ।झ
रास्वपाले आज देशैभर वडा अधिवेशन सञ्चालन गरिरहेको जनाएको छ। पार्टी संगठनलाई वडा तहसम्म मजबुत बनाउने उद्देश्यले अधिवेशन सञ्चालन गरिएको बताइएको छ।