सिरहामा भारततर्फ तस्करी हुँदै गरेको ४० लाख बराबरको सामानसहित ट्रक नियन्त्रणमा

सिरहा ३ जेठ । सिरहाको पूर्वी(दक्षिणी भारतीय सीमा क्षेत्र नवराजपुर गाउँपालिकाबाट सशस्त्र प्रहरी बलले भारततर्फ अवैध रूपमा तस्करी गर्न लागिएको करिब ४० लाख रुपैयाँ बराबरको सामानसहित एक ट्रक नियन्त्रणमा लिएको छ।

विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी बलको टोलीले शनिबार राति स १ ख ५३५ नम्बरको ट्रकसहित ओखर, क्लोजअप टुथपेस्ट, फेरेनलब्ली लगायतका सामान बरामद गरेको हो। प्रहरीले ट्रकको मूल्य करिब २० लाख रुपैयाँ र ट्रकमा रहेको सामानको मूल्य पनि करिब २० लाख रुपैयाँ बराबर रहेको जनाएको छ।

प्रहरीका अनुसार नेपालबाट भारततर्फ अवैध रूपमा सामान तस्करी गर्न लागेको आशंकामा ट्रक नियन्त्रणमा लिने क्रममा तस्कर समूहले अवरोधसमेत सिर्जना गरेका थिए।

नियन्त्रणमा लिइएको ट्रक हाल सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिरहाको सन्हैठास्थित कार्यालयमा राखिएको छ। गणका सूचना अधिकारी डीएसपी श्यामबाबु यादवका अनुसार बरामद सामान भगवानपुर–१ निवासी आनन्द यादवको रहेको खुलेको छ।

डीएसपी यादवले बरामद सामानको यकिन परिमाण तथा मूल्यांकन कार्य भइरहेको जानकारी दिए।  “अहिले नै सम्पूर्ण विवरण सार्वजनिक गर्ने अवस्था छैन। आइतबार बिहानदेखि सामानको परिमाण र मूल्यांकन गर्ने काम भइरहेको छ,” उनले भने।

प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी सोमबार बरामद सामान जिल्ला भन्सार कार्यालय माडरमा बुझाइने जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर