काठमाडौं, ०४ जेठ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले पछिल्ला दिनमा शैक्षिक परामर्श संस्थामाथि भइरहेको अनुगमन, छापा तथा धरपकडप्रति गम्भीर चासो व्यक्त गरेको छ। संघले आइतबार जारी गरेको विज्ञप्तिमा शिक्षा क्षेत्रको नाममा हुने ठगी, नक्कली कागजातको प्रयोग, अवैध आर्थिक कारोबार तथा विद्यार्थी र अभिभावकमाथिको दुरुपयोगलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने स्पष्ट पारेको छ।
इक्यानले यस्ता गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिमाथि निष्पक्ष अनुसन्धान र कडा कारबाही हुनुपर्नेमा जोड दिएको छ। तर केही घटनाका आधारमा सम्पूर्ण शैक्षिक परामर्श क्षेत्रलाई अपराधसँग जोड्ने प्रयास गलत भएको संघको भनाइ छ।
संघका अनुसार अनुसन्धान व्यक्तिगत जिम्मेवारीका आधारमा हुनुपर्छ, वैधानिक रूपमा सञ्चालन भएका संस्थालाई सामूहिक रूपमा बदनाम गर्नु उचित होइन। इक्यानले प्रशासनिक कमजोरी र नियतपूर्वक गरिएको आपराधिक ठगीबीच स्पष्ट कानुनी भिन्नता छुट्याउन सरकारसँग माग गरेको छ।
संघले जानाजानी गरिएको ठगीमा कडा कानुनी कारबाही गर्नुपर्ने तर सामान्य प्रशासनिक त्रुटिमा सुधारको अवसर दिनुपर्ने धारणा राखेको छ।
इक्यानका अनुसार शैक्षिक परामर्श क्षेत्रले नेपालमा करिब एक लाख ५० हजार जनालाई रोजगारी दिएको छ। साथै आर्थिक वर्ष २०२४/२५ मा यस क्षेत्रबाट १३८ अर्ब रुपैयाँभन्दा बढी विदेशी मुद्रा भित्रिएको दाबी गरिएको छ।